
काठमाडौं । लुम्बिनी प्रदेशले पीएम कपको इतिहासमा पहिलो पटक विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।
आइतबार सम्पन्न खेलमा लुम्बिनी ५० रनले विजयी भएको हो । आफ्नो अघिल्लो खेलमा नेपाल एपीएफ क्लबलाई सुपर ओभरमा पराजित गर्दै पहिलो पटक विभागिय टोलीलाई हराएको लुम्बिनीले आइतबार अर्को विभागीय टोली पुलिसलाई पनि स्तब्ध पारेको हो ।
लुम्बिनीको जितमा रन्जित खड्काले सानदार शतकीय इनिङ्स खेले । नारायणी क्रिकेट मैदान वीरगञ्जमा पुलिसले टस जितेर पहिला फिल्डिङ रोजेको थियो । सुरुवामा ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा १ बल बाँकी रहँदा सबै विकेट गुमाएर २ सय ५६ रनको योगफल तयार पारेको थियो ।
कप्तान देव खनाल र रन्जितले ६५ रनको ओपनिङ साझेदारी गरेका थिए । देव १४ रनमा बाहिरिए । दोस्रो विकेटका लागि रन्जित र आकाश त्रिपाठी मिलेर थप ८० रन जोडे । आकाश ३६ रनमा पेवलियन फर्किए । त्यसपछि सुमित श्रेष्ठ र प्रज्वल थापालाई सस्तैमा गुमाएको लुम्बिनीका सन्तोष यादवले १५ रन मात्र बनाउन सके ।
सेट ब्याटर रन्जित पनि शतक प्रहार गर्दै आउट भए । उनले १ सयको स्ट्राइक रेटमा १३ चौका र ३ छक्कासहित १ सय २८ रन बनाए । उनी करण केसीको सिकार बनेका थिए । दर्श सोनारले ३३ रनको योगदान दिए । २ सय ५७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पुलिसले ४२ ओभर ५ बलमा सबै विकेट गुमाएर २ सय ६ रन मात्र बनाउन सक्यो ।
उसका लागि दिनेश खरेलले ९४ रनको उत्कृष्ट नक खेलेपनि जितका लागि पर्याप्त भएन । शंकर राना १२, दिलसाद अली २२, करण केसी १४ र श्रवण यादवले ३६ रन बनाए। अन्य ब्याटरको प्रदर्शन खास हुन सकेन । लुम्बिनीका लागि अजय चौहानले ४ र देव खनालले ३ विकेट लिए । यससँगै ६ खेलमा ३ जितसहित ७ अंक जोडेको लुम्बिनी तालिकाको चौथो स्थानमा उक्लिएको छ । समान ७ अंकसहित पुलिस तेस्रो स्थानमा छ ।