प्रधानमन्त्री कप : बागमतीमाथि सुदूरकाे फराकिलो जित, हेमन्तको उत्कृष्ट बलिङ

चैत्र २२, २०८२ |खेल ब्युरो
प्रधानमन्त्री कप : बागमतीमाथि सुदूरकाे फराकिलो जित, हेमन्तको उत्कृष्ट बलिङ

काठमाडौं । मध्यम तीव्र गतिका बलर हेमन्त धामीले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको इतिहासकै उत्कृष्ट बलिङ फिगर आफ्नो नाममा गरेपछि सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई १ सय ६३ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

जितसँगै सुदूरपश्चिम अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । बागमती प्रदेश भने पीएम कपमा हालसम्मकै चौथो न्यून स्कोरमा समेटियो । राम जानकी बहुउद्देस्यीय रंगशालामा बागमतीले टस जितेर फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४२ ओभर १ बलमा सबै विकेट गुमाउँदै २ सय ९ रन बनाएको थियो । ओपनर अभिषेक पाल र राजु रिजालले पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरेका थिए ।

राजु ४ रन बनाएर आउट भए । अभिषेक पालले ३९ रन जोडे । खडक बोहरा शून्य, किरण ठगुन्ना ५, नरेन भट्ट ६ र मुलन बोहरा खाता नखोली आउट हुँदा सुदूरपश्चिमले ६८ रन जोड्दा ६ विकेट गुमाइसकेको थियो । सातौं विकेटका लागि दीपक बोहरा र नारायण जोशीले ५९ रनको साझेदारी गरे । 

दीपक ४० रनमा आउट भए भने नारायणले ६८ बलमा २ चौका र ६ छक्कासहित सर्वाधिक ७५ रनको अर्धशतकीय योगदान दिए । बागमतीका लागि प्रतिश जिसी र सन्दीप लामिछानेले समान ४-४ विकेट लिए । जारी सिजन १६ विकेट लिइसकेका सन्दीप सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा उक्लिएका छन् ।

२ सय ९ रनको लक्ष्य पछ्याएको बागमतीले ११ ओभर २ मा सबै विकेट गुमाउँदै ४६ रन मात्र बनाउन सक्यो । जुन पीएम कप इतिहासकै चौथो न्यून स्कोर हो भने रन पछ्याउने क्रममा कुनै पनि टिमले बनाएको दोस्रो कम रन हो । निकै कमजोर ब्याटिङ प्रदर्शन गरेको बागमतीका लागि ओपनर शुभ कंसाकारले ३२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

५ खेलाडी डक आउटमा गुमाएको बागमतीका लागि शुभबाहेकका अन्य १० खेलाडी मिलेर ९ रनमात्र बनाउन सके । बागमतीका ब्याटिङ लाइनअफ तहसनहस पारेका हेमन्तले ६ ओभरमा २ मेडनसहित १४ रन खर्चेर ७ विकेट लिए । जुन पीएम कप इतिहासकै उत्कृष्ट बलिङ फिगर हो । 

यस संस्करणमा २१ विकेट लिइसकेका हेमन्त सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्षस्थानमा पुगेका छन् । शेर मल्लले ३ विकेट लिए । यससँगै सुदूरपश्चिमले ६ खेलबाट १० अंक जोडेको छ । उ तालिकाको शीर्ष स्थानमा छ । ६ खेलबाट ४ अंक जोडेको बागमती आठौं स्थानमा छ ।