
महोत्तरी । देशभर फैलिएको लहर र त्यसमाथि महोत्तरीमै जन्मिनुभएका बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा अघि सारिएपछि त्यसलाई अपनत्व लिँदै तराई-मधेशका मतदाताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अभूतपूर्व जनादेश दिए ।
पूराना दलबाट निराश भएका मतदाता सबै अब सकारात्मक परिवर्तन हुनेमा आशावादी छन् । खासगरी दलित, महिला र पिछडिएका वर्ग उत्साहित छन् । महोत्तरीको एकडारा, पुर्ख्यौली घर भएका बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई अपनतत्व लिँदै तराई-मधेशका मतदाताले अभूतपूर्व जनादेश दिए ।
२०७९ मा मधेशबाट एक सिट पनि जित्न नसकेको रास्वपा तीन वर्ष नबित्दै ३२ मध्ये ३० सिट हात पार्न सफल भयो । पटक-पटक राजनीतिक परिवर्तन भए पनि नेपालकै इतिहासमा पहिलोपटक मधेशी मूलका युवा प्रधानमन्त्री बन्नै लाग्दा अब आफ्नो स्थितिमा परिवर्तन हुने आशामा छ- दलित, महिला र पिछडिएको समुदाय ।
विभिन्न बहाना बनाएर विजयी हुने र त्यसपछि गरिब विपन्नको दु:ख पीडा बुझ्न नआउने, निर्वाचनका बेला जनाएको प्रतिबद्धता पूरा नगर्ने, आफ्ना नेता कार्यकर्तासँग मात्र मतलब राख्ने दलप्रति यहाँका नागरिकमा पूरै निराशा छ । यहीकारण मधेशवादी मात्र नभइ मधेशलाई आफ्नो जनाधार क्षेत्र मान्दै आएका कांग्रेस र एमालेलाई पनि यसपटक मतदाताले अस्वीकृत गरिदिए ।
मधेशका नागरिकहरुको यो जनादेश गणतन्त्र, संसदीय लोकतन्त्र, संघीयता र समावेसिताविरूद्धको नभइ सरकारी अड्डा, अदालत, विकास निर्माणलगायत हरेक क्षेत्रमा जमेर बसेको विकृति, विसंगति र भ्रष्टाचारको समाप्तिका लागि भएको नवनिर्वाचित सांसदहरूको भनाइ छ । अब प्रत्येक निर्णय विधिसम्मत हुनुपर्ने उनीहरूको धारणा छ ।
अब बन्ने सरकारले स्वदेशमै रोजगारी र सेवाग्राहीलाई सहज सेवाका साथै विकास र सुशासनलाई जोड दिने अपेक्षा यहाँका नागरिकको छ । विभेद, असमानता र गरिबी रहेसम्म मधेशी जनताको माग, मुद्दा र राजनीति रहिरहनेमा अहिलेको ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि बुझ्नुपर्नेमा उनीहरूले जोड दिएका छ्न् ।