संकटमा परिरहेको छ कृषकको साथी ‘पानी बिरालो’

फाल्गुन २८, २०८२ |मनोज पौडेल
संकटमा परिरहेको छ कृषकको साथी ‘पानी बिरालो’

कपिलवस्तु । हेर्दा जति सुन्दर देखिन्छ, त्यति नै संकटमा पनि पर्दै गएको छ मलाहा बिरालो । विश्वकै दुर्लभ वन्यजन्तुमा सूचीकृत यसलाई नेपालले भने संरक्षित वन्तजन्तुको सूचीमा समेत राखेको छैन । 

मध्यम आकारको, छोटो खुट्टा हुने यो जनावरको रौँ पानीले नभिज्ने किसिमको हुन्छ र पानीमै यसले सिकार गर्न सक्छ ।

मलाहा बिरालोलाई पानी बिरालो पनि भनिन्छ । सुन्दर र चित्ताकर्षक यो बिरालो सानो हुन्छ । कम देखिने यो बिरालो लजालु स्वभावको हुन्छ । अंग्रेजीमा फिसिङ क्याट भनिने यो बिरालो बालीनाली नोक्सान गर्ने मुसा, चरा, किरा फट्यांग्रा खाने हुँदा कृषकको असल साथी पनि हो । 

पारिथितिकीय प्रणाली सन्तुलन राख्न यसले महत्त्वपूर्ण योगदान गर्छ । यसले सिमसार क्षेत्रको पारिस्थितिक चक्रमा पनि प्रमुख भूमिका खेलिरहेको हुन्छ । सिमसार क्षेत्रमा पानी बिरालोको उपस्थिति भए उक्त सिमसारको अवस्था राम्रो छ भनेर मान्न सकिन्छ ।

ताल पोखरीमा पानी बिरालो आयो भनेर माछा खाइदिन्छ भनेर व्यवसायी, कृषक र माझी समुदाय आक्रोश व्यक्त गर्छन् । तर, पानी बिरालो आउनु भनेको उक्त पोखरी वातावरणीय दृष्टीले स्वच्छ रहेको संकेत हो भनेर बुझनु पनि जरुरी भएको संरक्षकर्मी बताउँछन् । विश्वमा पाइने ४१ प्रजातिका बिरालामध्ये यो मात्र सिमसार र पानीमा आश्रित छ । यसको मुख्य आहारा माछा हो । माछा सिकार गर्ने शिल्पी गजबको हुन्छ । यसले पोखरीमा माछा कति तल छ भनेर जुँगाले ठम्याउने संरक्षणकर्मी बताउँछन् । 

तर, सहरीकरण, प्रदूषण, कृषि र माछापालनले गर्दा यस प्रजातिको वासस्थानको नाश र खण्डीकरण भइरहेको छ । साथै, सिमसार क्षेत्रको विनाश, अवैध सिकार र प्रतिशोधमा मारिनुले गर्दा यसको संख्या घट्दो क्रममा छ । त्यस्तै सडक दुर्घटनामा पनि बर्सेनि दुई/तीन वटा मर्ने गरेका छन् ।

नेपाललगायत बंगलादेश, श्रीलंका, भारत, पाकिस्तान, कम्बोडिया, थाइल्यान्ड र म्यानमार गरी ८ मुलुकमा मात्र यो जनावर पाइन्छ । विश्वभरि करिब ८ हजारभन्दा कम र नेपालमा ५ सयभन्दा कमको संख्यामा रहेको अनुमान छ । नेपालमा पानी बिरालो पूर्वमा कोशीदेखि धनुषा, मध्यमा सर्लाहीदेखि कपिलवस्तु र पश्चिममा दाङदेखि कञ्चनपुरसम्म पाइएको रेकर्ड छ ।


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।