काठमाडौं । पश्चिम एसियामा तनाव बढेसँगै बजारमा खाना पकाउने ग्यास अभाव हुन थालेको छ ।
उपभोक्ताहरूले लामो समय कुर्दा पनि ग्यास नपाइएकाले चुल्हाे नै बल्न छाडेको गुनासो गरेका छन् । यता आयल निगमले अन्य समयमा भन्दा ग्यास आयात बढाइएकाले आत्तिने स्थिति नरहेको जिकिर गरेको छ । उद्योगहरूले पनि बजारमा नियमित आपूर्ति गरिरहेको दाबी गरेका छन् ।
सरकार र उद्योगीका आआफ्नै दाबी भए पनि उपभोक्तालाई ग्यास पाउन निकै सास्ती हुँदै गएको छ । खाना पकाउने ग्यास सकिँदा पनि बजारमा नपाएपछि काठमाडौंको गौरीघाटकी सुशीला श्रेष्ठको भान्छामा एक सातादेखि चुल्हो बलेको छैन । ग्यास पाइएला कि भनेर दिनहुँजसो डिपो र पसल चहारे पनि नपाएपछि चार जनाको परिवारलाई कसरी खाना बनाएर खुवाउने भन्ने चिन्ताले उनलाई सताइरहन्छ ।
पश्चिम एसियामा तनाव बढेसँगै बजारमा खाना पकाउने ग्यास अभाव हुन थालेपछि उपभोक्ता मर्कामा पर्न थालेका छन् । उपभोक्ताले लामो समय कुर्दा पनि नपाएको गुनासो गरिरहँदा स्थानीय खुद्रा बिक्रेताहरूले उद्योगले नै नपठाउँदा वितरण गर्न नसकेको बताएका छन् ।
यता उद्योगहरूले भने नियमित रूपमै बजारमा पठाइरहेकाले अभाव नभएको दाबी गरेका छन् । बालाजुस्थति नेपाल ग्यास उद्योगले दैनिक ७ हजार सिलिन्डर ग्यास बजारमा पठाइरहेको जनाएको छ । आवश्यकता अनुसारको ग्यास उत्पादन भएको र सोही परिमाणमा बजारमा पठाइरहँदा पनि अभाव देखिएको उद्योगका प्रतिनिधिको भनाइ छ ।
नेपाल आयल निगमले भारतबाट दैनिक ९५ बुलेट अर्थात् १ लाख १५ हजार सिलिन्डर ग्यास आयात गरिरहेकोमा त्यसलाई बढाएर १ सय १० बुलेट आयात भइरहेको जनाएको छ । तर पश्चिम एसियामा युद्ध लम्बिए अभाव हुने त्रासले उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर जोहो गर्न थाल्दा अभाव देखिएको निगमको भनाइ छ ।
तत्काल ग्यासको अभाव र मूल्य वृद्धि नहुने भन्दै निगमले अनावश्यक ग्यास जोहो नगर्न आग्रह गरेको छ । बजारमा ग्यास अभाव भएको गुनासा बढेपछि आयल निगम र उद्योगहरूले विवरण संकलन गरेरमात्र उपभोक्ताहरूलाई ग्यास वितरण गर्न परिपत्र गरेको छ । भारतबाट नियमित रुपमा आवश्यक मात्रामा ग्यास आयात भइरहेकाले नआत्ति र त्रसित नहुन सरकारले आग्रह गरेको छ ।