काठमाडौं । ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथजात्रा नजिकिएसँगै रथ निर्माणमा संग्लन बाराहीहरु पांग्रा बनाउन व्यस्त छन् ।
मुलुक निर्वाचनमय भएको बेला बाराही समूहका कालीगढ भने रथका पांग्रा निर्माणमा जुटेका हुन् । जेन-जी आन्दोलनका क्रममा रथका दुईवटा पांग्रा जलेर क्षति भएपछि गुठी संस्थान परम्परा र संस्कृतिलाई जीवन्त बनाउन चारवटै दक्ष कालिगढबाट परम्परागत शैलीमा नयाँ पांग्रा निर्माणमा जुटेको हो । रथका पांग्रा निर्माणका लागि मात्र ४० लाख रूपैयाँभन्दा बढी खर्च लाग्ने छ ।
ललितपुरको प्रसिद्ध मच्छिन्द्रनाथको रथका पांग्राहरू जेन-जी आन्दोलनका क्रममा आगलागी भएर क्षति पुगेपछि स्थानीय दक्ष कालिगढ बाराही समुदायका अगुवा नयाँ पांग्रा निर्माण जुटेको छन् । पृथक पहिचान बोकेको जात्रा सञ्चालनमा समस्या आउने भएपछि गुठी संस्थानको सकृयता र आर्थिक सहयोगमा ललितपुरको गछें टोलमा मच्छिन्द्रनाथ रथका ४ वटै नयाँ पांग्रा निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
बाराको निजगढबाट काठ ल्याइ पांग्रा निमाण गरिएको हो । पांग्रा बनाउन दिनहुँ १५ जनाभन्दा बढी दक्ष कालिगढ शिल्पकार अर्थात बाराहीहरु लागिपरेका छन् । हरेक पांग्रालाई ४ वटा छुट्टाछुट्टै भैरवको प्रतिकको रुप मानेर ३२ फिट गोलाकार हुने गरी बनाइएको छ ।
बाराको निजगढ जंगलमा धार्मिक विधिपूर्वक पुजाआजा गरी रथ निर्माणका लागि चाहिने काठ ल्याउने परम्परा छ। काठ मात्र प्रयोग गरी बलियो रुपमा पांग्रा बनाउने गरिन्छ । गत माघ ९ गतेबाट विधिवत रुपमा रथका पांग्रा निर्माण सुरु गरिएको हो । पांग्रा निर्माणका लागि ४० लाख रुपैयाँभन्दा बढी लाग्ने गुठी संस्थान कार्यालयले जनाएको छ ।
रथ निर्माणमा काठ कट्ने बोसी समुदाय, निर्माणमा बाराही र रंगरोगनमा चित्रकार समुदाय तथा पुजापाठमा शाक्य बज्राचार्य समुदायका पानेजूहरुको संग्लन हुन्छन् । रथको पांग्रा तयार भएपछि मछिन्द्रनाथका पुजारी पानेजूहरुबाट पुजाआजा गरिने गरिन्छ । सामान्यतया रथको पांग्रा १२ वर्षमा एक पटक मात्र नयाँ बनाउने परम्परा भएपनि यस पटक आगजनीले क्षति पुगेपछि नयाँ पांग्रा निर्माण गरिएको हो ।
यस वर्ष वैशाख ५ गते मच्छिन्द्रनाथको रथारोहण गरी ८ गतेबाट जात्रा प्रारम्भ हुने छ ।