स्थिर सरकारको संकेतपछि निजी क्षेत्र आशावादी, लगानी भने बजेटपछि मात्रै

फाल्गुन २४, २०८२ |सुदिल पोखरेल
स्थिर सरकारको संकेतपछि निजी क्षेत्र आशावादी, लगानी भने बजेटपछि मात्रै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसद्‌मा दुई तिहाइ नजिकै पुगेपछि अब स्थिर सरकार आउने वातावरण बनेको भन्दै निजी क्षेत्र आशावादी भएको छ । 

अस्थिर सरकार र त्यसले निम्त्याउने नीतिले लगानीको वातावरण नबनेको भन्ने निजी क्षेत्र अहिले पनि सरकार बन्दैमा लगानी भने नगर्ने मुडमा देखिन्छ । उद्योगी तथा व्यवसायी अब बन्ने सरकारको नीति तथा कर सम्बन्धी कानुनपश्चात् अर्थात् आगामी वर्षको बजेटपछि मात्रै लगानी गर्ने योजनामा देखिन्छ ।

प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नं. २ बाट विजयी भएपछि मतदातालाई धन्यवाद दिने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेले अब निजी क्षेत्रको लगानीको सुरक्षा गरिने बताउनुभयो । जेन-जी आन्दोलनका क्रममा क्षति भोगेको निजी क्षेत्रले आफ्ना उद्यम तथा व्यवसाय ध्वस्त पार्नेमाथि कारवाही नहुँदा लगानी गर्न अलमल भइरहेका बेला लामिछानेको यस्तो भनाइ आएको छ । तर रास्वपाले आगामी दिनमा लिने आर्थिक नीतिबारे यो भनाइ पर्याप्त नभएकाले पनि निजी क्षेत्र भने ढुक्क हुने अवस्थामा छैन ।

लामिछानेले व्यवसाय विस्तार गर्न र सुरक्षित बन्न राजनीतिक दलको सहारा लिन नपर्ने भन्दै आश्वासन मात्रै हैन विदेशी दातृ निकायलाई विकास कुटनीति अबको सरकारको प्राथमिकता रहने बताउनुभयो । अर्थात् राज्यको आर्थिक तथा राजनीतिक विकासका लागि दातृ निकायसँग विकास तथा प्राविधिक सहायता लिने बताउनुभयो । 

निजी क्षेत्रले लामो समयदेखि सरकारले विकास खर्च बढाउनुपर्ने बताउँदै आएको छ । विकास निर्माणका काम अघि बढे त्यसले वस्तुको माग बढाउने र अर्थतन्त्र चलायमान हुने भएकाले सरकार गठन हुँदैमा लगानी नबढाउने निजी क्षेत्र बताउँछ । बैंकको व्याजदर सस्तो हुँदा पनि उद्यमी व्यवसायीले अहिले ऋण लिएका छैनन् । 

ठूला उद्यमी तथा व्यवसायी मात्रै नभइ नवउद्यमीसमेत अब सरकारले लिने आर्थिक नीति र बजेट विनियोजन हेरेर मात्र लगानी गर्ने बताउँछन् । निजी क्षेत्र सरकारभन्दा पनि अर्थतन्त्र कहिले चलायमान होला र लगानी बढाउँला भनेर बसेको छ । स्थायी सरकारपश्चात् उसले अंगाल्ने निजी क्षेत्रसम्वद्ध नीति र त्यसले बजारमा पार्ने प्रभाव पछि मात्रै लगानी बढाउने योजनामा उद्यमी व्यवसायी देखिन्छन् ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।