दाङमा निर्वाचनको सम्पूर्ण तयारी पूरा

तीनै निर्वाचन क्षेत्रमा पुगे निर्वाचन सामग्री लिएर अधिकृतदेखि सुरक्षाकर्मीको टोली
फाल्गुन १८, २०८२ |अमर क्षितिज भण्डारी
दाङमा निर्वाचनको सम्पूर्ण तयारी पूरा

दाङ । तीनवटा निर्वाचन क्षेत्र रहेको दाङमा फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको तयारी पूरा भएको छ । 

सबै मतदान केन्द्रमा निर्वाचनका सामग्री लिएर मतदान अधिकृतदेखि सुरक्षाकर्मीको टोली पुगिसकेको छ । फरक परिस्थितिमा हुन लागेको निर्वाचनमा कर्मचारीदेखि मतदाताहरू उत्साहित छन् भने सुरक्षा व्यवस्था मजबुत सुरक्षा निकायले जनाएको छ ।

लुम्बिनी प्रदेश निर्वाचन कार्यालयमा सोमबार बिहानैदेखि भीड थियो । फागुन २१ मा हुने प्रतिनिधी सभा निर्वाचनका लागि खटिने मतदान अधिकृतदेखि सुरक्षाकर्मी सबै आ-आफ्नो कार्यक्षेत्रमा जानका लागि कोही निर्वाचन सामग्री बुझ्दै थिए भने कोही पोका पन्तुरा पार्दै त कोही गाडीमा सामान चढाउँदैमै व्यस्त थिए । 

विशेष परिस्थितिमा हुन लागेको निर्वाचनलाई सम्पन्न गर्नका लागि खटिने कर्मचारीदेखि सबै उत्साहका साथ जान थालेको बताउँछन् । तीन निर्वाचन क्षेत्र रहेको दाङ जिल्लाका सबै मतदान केन्द्रमा ५१ प्रकारका सम्पूर्ण निर्वाचन सामग्री लिएर मतदान अधिकृतदेखि अन्य कर्मचारी ३ हजार १ सय कर्मचारी सहितको टोली मतदान केन्द्रमा पुगिसकेको छ । 

मतदान गर्नुअघिको दाङ जिल्लाको सबै तयारी पूरा भएको र अब मतदानको दिन पर्खिएको मुख्य निर्वाचन अधिकृतको भनाइ छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी गरी पाँच हजारभन्दा बढी सुरक्षाकर्मी निर्वाचनका लागि परिचालन गरिएको छ । 

सुरक्षा सम्वेदनशीलतालाई हेरी जिल्लाका १६ मतदान स्थललाई अतिसम्वेदनशील, १३४ सम्वेदेनशील र ९ सामन्य गरी बर्गिकरण गरी सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । दाङमा सबैभन्दा कम आधारभूत विद्यालय चाक्लीघाटमा ३४२ मतदाता रहेका छन् भने सबैभन्दा धेरै घोराहीको पद्योदय माविमा रहेको ११ मतदान केन्द्रमा १० हजार ९६९ मतदाताले मतदान गर्दैछन् ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।