
पाेखरा । कास्कीमा साेमबार सबै मतदान अधिकृतहरूलाई निर्वाचन सामग्री वितरण गरिएको छ ।
कास्कीका एक सय ५३ वटै मतदान स्थलका अधिकृतलाई प्रदेश निर्वाचन कार्यालयबाट सामग्री वितरण गरिएको हो । साेमबार बिहान गाँउपालिका र दिउँसो पोखरा महानगरपालिका भित्रका तीन सय ६३ मतदान केन्द्रका लागि ५२ प्रकारका सामग्री वितरण गरिएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रूद्र न्यौपानेले जानकारी दिनुभयो ।
निर्वाचनमा आवश्यक मतपेटिका, औंलामा चिन्ह लगाउने नउड्ने मसी भएको मार्कर पेन, पित्तलको स्वस्तिक चिन्ह छाप, स्ट्याम्प प्याड र स्ट्याम्प प्याड मसी, कागज, डटपेन, धागो, सियो, पिन, किला, स्टेपलर, गम, लाहा, मैनबत्ती, ब्लेड, कार्बन पेपर, कैँची जस्ता सामग्री समावेश छन् ।
निर्वाचनसम्बन्धी ऐन, नियम, निर्देशिका, कार्ड, कपडाको थैलो, मतदान कक्षको छेकवारा, फारमलगायत सामग्री पनि पठाइएको छ। निर्वाचन सामाग्री बुझेर कर्मचारी र सुरक्षाकर्मी साेमबारनै मतदानस्थल पुग्नेछन् । तीन लाख आठ हजार पाँच सय ७२ मतदाता रहेको कास्कीमा तीन क्षेत्रका लागि ६ स्वतन्त्रसहित ४९ उम्मेदवार चुनावी मैदानमा छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले कास्कीका तीनवटै निर्वाचन क्षेत्रको मतगणना स्थलसमेत तय गरेको छ । क्षेत्र नम्बर १ को मतगणना पोखरा महानगरपालिका १५ को वडा कार्यालय, क्षेत्र नम्बर २ को मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय मालेपाटन र क्षेत्र नम्बर ३ को मतगणना पोखरा सभागृहमा हुने गरी व्यवस्थापन मिलाइएको छ ।