नेतृत्व धेरै, विकास किन कम ? सुदूरपश्चिममा फेरि आधारभूत मुद्दाकै चुनाव

फाल्गुन १८, २०८२ |टेकराज जोशी
नेतृत्व धेरै, विकास किन कम ? सुदूरपश्चिममा फेरि आधारभूत मुद्दाकै चुनाव

कैलाली । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ । 

देशभर चुनावी सरगर्मी बढेको छ। उम्मेदवारहरू विभिन्न एजेन्डा बोकेर मतदाताको घरदैलोमा पुगिरहेका छन्। तर, मुलुककै सबैभन्दा गरीब प्रदेश मानिएको सुदूरपश्चिम प्रदेश मा भने अझै पनि आधारभूत आवश्यकताकै मुद्दा उठिरहेको छ ।

सुदूरपश्चिम प्रदेशमा ९ जिल्ला छन् ।सातवटा पहाड र दुई तराईमा पर्छन् । करिब २७ लाख जनसंख्या रहेको यो प्रदेश मुलुककै सबैभन्दा बढी गरीबी दर भएको प्रदेश हो । यहाँको गरीबी दर ३४ दशमलव १६ प्रतिशत छ । २०४७ साल यताका अधिकांश निर्वाचनमा सडक र पूर्वाधारकै मुद्दा उठ्यो । 

चुनावी भाषणमा विकासका आश्वासन दोहोरिँदै आए, तर अवस्था भने धेरै फेरिएको छैन । स्वास्थ्य अवस्था अझै पनि कमजोर छ। एउटा पनि पूर्ण शिक्षण अस्पताल छैन। गम्भीर उपचारका लागि संघीय राजधानी वा भारत जानुपर्ने बाध्यता छ। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना भए पनि चिकित्सा शिक्षा सुरु हुन सकेको छैन । 

बालबालिका र महिलामा कुपोषण गम्भीर समस्या बनेको छ । बाल मृत्युदर सबैभन्दा बढी भएको प्रदेश पनि हो, सुदूरपश्चिम । हालै सार्वजनिक नेपाल बहुसूचक सर्वेक्षण ०८१/८२ अनुसार नेपालमा एक हजार जीवित जन्मेका शिशुमध्ये एक वर्ष नपुग्दै २७ जनाको मृत्यु हुने गरेको छ । 

सुदूरपश्चिममा भने नवजात शिशु मृत्युदर ३८ जना छ । यस्तै, मुलुकमा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर एक हजारमा ३१ छ, सुदूरपश्चिममा भने सबै प्रदेशभन्दा बढी ४८ जनाको मृत्यु हुन्छ । शिक्षा संरचना पनि कमजोर छ । प्राविधिक तथा मेडिकल शिक्षाको अवसर अभावमा विद्यार्थीहरू बाहिरिन बाध्य छन् ।

प्रदेशमा ठूला उद्योग छैनन् । रोजगारीका अवसर न्यून छन् । व्यापार-व्यवसाय विस्तार हुने विकसित सहरको अभाव छ । रोजगारीकै खोजीमा हजारौं युवा भारत र खाडी मुलुक पुगिरहेका छन् । विभिन्न सर्वेक्षणअनुसार करिब ६ लाख सुदूरपश्चिमेली भारतमा रहेको अनुमान छ । 

पहाडी जिल्लाका गाउँहरू रित्तिँदै गएका छन्। बसाइँसराइ बढ्दो छ । अधिकांश जनसंख्या अहिले कैलाली जिल्ला र कञ्चनपुर जिल्ला जस्ता तराई जिल्लामा केन्द्रित छ । यसै प्रदेशबाट देशले प्रधानमन्त्रीसमेत पायो । शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री भए। लोकेन्द्र बहादुर चन्द पनि यही प्रदेशबाट प्रधानमन्त्री बने । 

भीम रावल,एनपी साउद,लेखराज भट्ट, रमेश लेखक पटक पटक मन्त्री बने । नेतृत्व त पाइए पनि नागरिकको जिवनस्तरमा अपेक्षित परिवर्तन आएन । निर्वाचन नजिकिँदै गर्दा सुदूरपश्चिममा फेरि उही प्रश्न दोहोरिएको छ- आधारभूत विकास कहिले? रोजगारी कहिले? स्वास्थ्य र शिक्षा कहिले सुदृढ हुने? यस पटकको निर्वाचनले सुदूरपश्चिमको भविष्य कति बदल्छ- त्यो भने मतदाताको निर्णयले तय गर्नेछ ।


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।