
रुपन्देही । भौतिक विकास र मानविय विकासबाट पछाडि छ, रूपन्देहीको मर्चवार क्षेत्र ।
मधेशी समुदायको बसोबास रहेको भारतीय सीमा क्षेत्रसँग जोडिएको क्षेत्र रूपन्देहीको क्षेत्र नम्बर ४ हो । जहाँ आठौं पटक चुनावी मैदानमा होमिएका जसपा नेतासँग अन्य युवा उम्मेदवारहरू जित निकाल्ने अन्तिम कसरतमा छन्। तीव्र विकास र सहरीकरणले रूपन्देहीको रूप फेरिँदा क्षेत्र नम्बर ४ मा पर्ने दक्षिणी भेग मर्चवारमा भने यी विकासका वाछिटासम्मले पनि छोएको छैन।
मधेशी मुलका बासिन्दाको मात्रै बसोबास रहेको यो क्षेत्र भौतिक र सामाजिक विकास दुवैमा पछाडि छ। प्रतिनिधि सभा चुना नजिकिँदै जाँदा उम्मेदवारहरू अहिले यही मर्चवार क्षेत्रको विकास र समृद्धिको नारा बोकेर मतदाताको मन जित्ने कोशीसमा छन्।
पाका र नयाँ युवाबीचको चुनावी प्रतिस्पर्धाले मर्चवार तरंगीत छ। युवाहरू विकासका नयाँ मोडल लिएर चुनावी मैदानमा उत्रेका बेला जसपा नेता सर्वेन्द्रनाथ शुक्ला भने आठौं पटक चौथो जितका लागि यही क्षेत्रबाट मर्चवारको मन जित्ने कोशीसमा हुनुहुन्छ ।
मत फेर्ने र दल फेर्ने मर्चवारका लागि नयाँ कुरा होइन । यही कारण रूपन्देही ४ मा २०७४ मा नेपाली कांग्रेसबाट संघीय सांसद बन्नुभएका प्रमोदकुमार यादव अहिले नेकपा (एमाले)बाट उम्मेदवार बन्नुभएको छ । आफूले सुरू गरेका विकास योजना सक्ने र समृद्ध मर्चवार बनाउने योजनासहित यादव मतदाताको घरदैलो गरिरहनुभएको छ ।
गरिबी र बेरोजगारीले जेलिएको मर्चवार शिक्षा र स्वास्थ्यको पहुँचबाट पनि टाढा छ । चुनाव जित्ने नेताले महत्वपूर्ण मन्त्रालय सम्हाले पनि यहाँको विकासमा ध्यान दिएनन् । यसपालि पमतदाता सचेत बनेर विकास माग्न थालेपछि उम्मेदवारहरूले पनि मर्चवारको मूहार फेर्ने सामर्थ्य आफूमा रहेको भन्दै भोट तान्ने अभ्यास गरेका छन् । त्यस्तोमा अगाडि नयाँ उमेदवार देखिएका छन् ।
युवा सशक्तिकरण र परिवर्तनका चर्का नारा बोकेर रूपन्देही ४ को चुनावी मैदानमा हुनुहुन्छ रास्वपाका कन्हैया बनियाँ । प्रदेश सभामा एक वर्ष बढीको म्याद बाँकी छँदै प्रदेश सभा सदस्य पद र लोसपा छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका बनियाँ विकासका लागि नयाँ सोच र युवा नेतृत्व आवश्यक रहेको भन्दै मतदाताको मन बदल्ने अन्तिम कसरतमा लागिरहनु भएको छ ।
रूपन्देही ४ मा मर्चवार क्षेत्रका सम्मरीमाई, मर्चवारी, कोटहीमाई, मायादेवी गाउँपालिकासहित सियारी गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाका केही वडाहरू समेटिन्छन्। १ लाख १६ हजार १७२ जना मतदाता रहेको यस क्षेत्रमा २५ हजार मत सुरक्षित गर्ने उम्मेदवार जित नजिक पुग्नेछन्। तर, पाका र नयाँ युवाबीचको चुनावी प्रतिस्पर्धा र दल अदलबदलको लहडले मर्चवारबासीको मन कसले जित्ने हो भन्न सकिँदैन ।