अमेरिका । विशेष परिस्थितिका बिच हुन लागेको निर्वाचनले नेपालभित्र मात्र होइन संसारभर छरिएका नेपालीहरूलाई समेत चासो जगाइदिएको छ ।
धेरै नेपालीहरू निर्वाचनमा सहभागी हुन स्वदेश फर्किइरहेका छन् भने विभिन्न कारणले आउन नपाएकाहरूले नेपालमा हुन गइरहेको निर्वाचनलाई निकै चासोका साथ पर्खिरहेका छन् । अमेरिकामा रहेका झन्डै पाँच लाखजति नेपालीहरूले कसरी हेरेका छन् यो निर्वाचनलाई ?
दुई दशकदेखि अमेरिकामा बस्दै आएका पाशाङ शेर्पा हरेक दिन कयौँ नेपालीहरू भेट्नुहुन्छ अनि कुरा गर्नुहुन्छ। नेपालमा हुन गइरहेको निर्वाचनबारे अमेरिकामा रहेका धेरै नेपालीहरूले अति चासो दिएको पाउनुहुन्छ । लेखक तथा गीतकारको पनि परिचय बनाएका पाशाङले पनि नेपालमा हुन गइरहेको निर्वाचनलाई निकै उत्सुकता साथ पर्खिरहनुभएको छ ।
तीन वर्षदेखि अमेरिकामा रहेकी प्रतिमालाई पनि नेपालको निर्वाचनले छोएको छ । यो निर्वाचन मुलुक र विकासको लागि निकै महत्वपूर्ण रहेकाले जसरी पनि सफल हुनुपर्ने चाहना उहाँ राख्नुहुन्छ । गोलार्द्धको विपरीत दिशामा रहे पनि नेपालमा हुने हरेक परिवर्तनमा अमेरिकी नेपालीको चासो र सरोकार हुनु सामान्य नै हो ।
भूगोलबाट टाढा भए पनि अमेरिकामा रहेका नेपालीका मनमा नेपाल र नेपालमा हुने गतिविधिले प्रभावित पार्ने गरेको छ । कतिपय नेपालीहरूले नेपालका दलका पक्षमा क्याम्पेन नै चलाउने गरेकोसमेत पाइन्छ । तर आप्रवासीहरूको मुद्दा र सवालमा निर्वाचन र त्यसपछि बन्ने सरकारले सम्बोधन गरोस् भन्ने चाहना प्रवासमा बस्ने हरेक नेपालीको रहेको छ ।
विदेशमा रहे पनि नेपालको निर्वाचन सफल बन्नुपर्छ भन्नेका कसैको दुईमत छैन । कतिपय नेपालीले नेपालको भूनाेट, विविधता तथा लोकतन्त्रको रक्षार्थ निर्वाचनले भूमिका खेल्नुपर्ने तथा उम्मेदवार र अब बन्ने संसद् गम्भीर हुनुपर्ने विचार व्यक्त गर्दछन् ।