
अर्घाखाँची । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन शुक्रबारदेखि अर्घाखाँची जिल्लाभर मदिरा बिक्री, वितरण तथा सेवनमा पूर्ण रोक लगाइएको छ।
मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले सर्वपक्षीय बैठकमार्फत उक्त निर्णयबारे जानकारी दिनुभएको हो। उहाँकाअनुसार निर्वाचन अवधिभर लागूहुने आचारसंहिताअनुसार मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवन निषेध गरिएको छ। आचारसंहिता उल्लङ्घन गर्ने व्यक्ति वा संस्थामाथि प्रचलित कानुन बमोजिम निर्वाचन कसुरअन्तर्गत कारबाही गरिने स्पष्ट पारिएको छ।
निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न सबै राजनीतिक दल, व्यवसायी तथा सर्वसाधारणलाई सहयोग गर्न आग्रह गरिएको छ। साथै, जिल्ला प्रशासन र सुरक्षा निकायले अनुगमनलाई कडाइ गर्ने जनाइएको छ ।