प्रधानमन्त्रीका दुई उम्मेदवार भिडेको झापा-५ मा दमक र गौरादहका मतदाता निर्णायक

फाल्गुन १३, २०८२ |दशरथ राई|गणेशमान मुखिया
प्रधानमन्त्रीका दुई उम्मेदवार भिडेको झापा-५ मा दमक र गौरादहका मतदाता निर्णायक

काठमाडौं । फागुन २१ गतेको निर्वाचनका लागि सबैभन्दा चर्चाको निर्वाचन क्षेत्र हो झापा-५, जहाँ नेकपा (एमाले) र राष्ट्रिय स्वन्तन्त्र पार्टीले भावी प्रधानमन्त्रीको घोषणा गरेरै उम्मेदवार मैदानमा उतारेका छन् । 

एमालेले अध्यक्ष केपी शर्मा ओली र रास्वपाले बालेन्द्र शाहलाई उठाएका छन् । प्रधानमन्त्रीका उम्मेदवारलाई जिताउने कि हराउने, नतिजा अब मतदाताको हातमा छ । यस क्षेत्रमा पर्ने चारवटा पालिकाको स्थिति के छ, मतदाता के भन्छन् ? अनि उम्मेदवारको दाबी के छ ? 

झापा-५ मा प्रधानमन्त्रीका एकजना उम्मेदवार हार्दैछन्। एमाले अध्यक्ष केपी ओली, रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहलाई दुबैका पार्टीले प्रधानमन्त्रीको उम्मेवारसमेत घोषणा गर्दा दुईमध्ये कम्तिमा एकजनाको हार निश्चित हो। तर २२ जना उम्मेदवार रहेको यो क्षेत्रमा बाजी यी दुईबाहेक अर्को उम्मेदवारले पल्टायो भने दुबै उम्मेदवारको संसद् प्रवेशको बाटो त रोकिन्छ नै, सरकारको नेतृत्व गर्ने दौड पनि सकिनेछ। 

त्यसकारण पनि झापा-५ चर्चाको केन्द्रमा छ। १ लाख ६३ हजार ३ सय ७९ जना मतदाता रहेको यो क्षेत्रको नतिजामा दमक नगरपालिकाको मत निर्णायक हुनेछ । १० वटा वडाका जहाँ ६५ हजार ९ सय ९७ मतदाताले झापा-५ को परिणाम निर्धारण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन्। 

हुन त झापा-५ मा ४ पालिकामा २९ वटा वडा छन्। गौरादह नगरपालिकाका ८ वटा वडाका ४१ हजार ४ सय ७५ मतदाताले पनि नतिजामा प्रभाव पार्नेछन्। दुवै नगरपालिकाले यसअघि पुराना पार्टीलाई मत दिँदै आएको इतिहास छ। तर यहाँका मतदाता भन्छन् – हामी परिवर्तनको पक्षमा छौं। 

यसअघि कांग्रेस र एमालेलाई जिताउँदै आए पनि जग्गाको नक्सा पास नहुँदा गौरादहका मतदाता असन्तुष्ट देखिँदै आएका छन् । झापा-५ मा दुईवटा गाँउपालिका छन्- गौरीगञ्ज र कमल । गौरीगञ्जका चारवटा वडामा सबभन्दा कम १५ हजार १ सय २१ मतदाता रहेका छन् भने कमल गाउँपालिकाका ७ वडामा ४० हजार ७ सय ८६ मतदाता छन् । 

यसक्षेत्रका मतदाताहरूले पनि यसअघि पुराना दलका उम्मेदवारहरूलाई मत दिँदै आएका हुन्। यसपटक नयाँ दल र नयाँ उम्मेदवार मैदानमा हुँदा निर्णय गर्न मतदातालाई कठिन छ। २०७९ को स्थानीय निर्वाचनमा झापा-५ का २९ वटा वडामा एमालेले १७, कांग्रेसले ७, तत्कालीन माओवादी केन्द्रले २, समाजवादीले १, राप्रपाले १ र स्वतन्त्रले १ वडाध्यक्ष जितेका थिए । 

देशभर नै नयाँ र पुराना दलबीच मतदाताहरू धुव्रीकृत भइरहेका बेला झापा-५ मा पनि यो माहोल देखिएको छ। चुनावी सरगर्मी बढिरहेका बेला पूर्वप्रधानमन्त्रीदेखि पूर्व मेयर र युवा उम्मेदवारहरूले आफ्ना मुद्दा उत्कृष्ट रहेकाले आफू विजयी हुने दाबी गरिरहेका छन् ।

मतदाताहरू भने उम्मेदवारले आफ्ना समस्या समाधान नगरेको भन्दै असन्तुष्टि पोखिरहेका छन् । यही असन्तुष्टिका बीच झापा-५ को चुनावी दौडमा उत्रिएका २४ उम्मेदवारमध्ये कसले बाजी मार्छ, यसका लागि भने २१ फागुन नै कुर्नुपर्ने छ।


Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।

Image

गणेशमान मुखिया

मुखिया कान्तिपुर टेलिभिजनका झापा संवाददाता हुन् ।