मोरङ- २ चासोको केन्द्रमा, यसपटक बहुकोणीय प्रतिस्पर्धाले चुनावी समीकरण रोचक

फाल्गुन १२, २०८२ |सुशीला पाठक
मोरङ- २ चासोको केन्द्रमा, यसपटक बहुकोणीय प्रतिस्पर्धाले चुनावी समीकरण रोचक

विराटनगर । निर्वाचनको मिति नजिकिँदै जाँदा मोरङको क्षेत्र नम्बर २ चासोको केन्द्र बनेको छ । 

विगतका निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीच मुख्य प्रतिस्पर्धा हुँदै आएको यस क्षेत्रमा यसपटक भने बहुकोणीय प्रतिस्पर्धाले चुनावी समीकरण रोचक बनाएको छ । घरदैलो र भेटघाट तीव्र बनाएका दलहरूले आफ्ना योजना र उपलब्धीको प्रचारप्रसार गरिरहेका छन् भने मतदाता चाहीँ विगतका कामको मूल्यांकन गर्दै निर्णय गर्ने मनस्थितिमा छन् ।

आसन्न प्रतिनिधि सभाको निर्वाचन नजिकिएसँगै मोरङ-२ मा पनि चुनावी चहलपहल बढेको छ । एक लाख २९ हजार १८४ जना मतदाता रहेको यो क्षेत्रमा अधिकांश ग्रामीण भूगोल रहेकाले समस्या पनि धेरै छन् । सडक, खानेपानी, पुल पुलेसालगायत यहाँका आम समस्या हुन् । 

विकासप्रेमी, स्थानीयका समस्या समाधान गर्ने र सदनमा पनि आवाज बुलन्द पार्ने नेता आफ्नो रोजाइमा रहने यो क्षेत्रका मतादातको भनाइ छ । यो क्षेत्रबाट कांग्रेसका मिनेन्द्र रिजाल, एमालेका दिलीपकुमार अग्रवाल, रास्वपाका कृष्ण कार्की, नेपाली कम्युनिष्ट पार्टीका चन्द्रवीर राईलगायत चार स्वतन्त्रसहित १७ जना उम्मेदवार चुनावी मैदानमा छन् । 

२०७४ र २०७९ को निर्वाचनमा कांग्रेस र एमालेले पालैपालो जित हासिल गरेका थिए । यसपटक कांग्रेसले पुरानो जनाधार पुनः सक्रिय बनाउने लक्ष्यसहित रिजाललाई अघि सारेको छ । सोहिअनुसार उम्मेदवार र नेता कार्यकर्ता घरदैलोमा पुगेर जनताका समस्या समाधान गर्ने वाचा गर्दै मत मागिरहेका छन् ।

यता, एमालले रंगेली नगरपालिकाका निवर्तमान प्रमुख अग्रवाललाई उम्मेदवार बनाएको छ । स्थानीय तहमा विकास निर्माणका काम गरेको अनुभवलाई चुनावी मुद्दा बनाउँदै अग्रवाल मत मागिरहनुभएको छ । 'रंगेलीको जस्तै मोरङ-२ मा विकास' भन्ने नारासहित एमालेले संगठनात्मक शक्ति र स्थानीय निर्वाचनको मत परिणामलाई आफ्नो बलियो आधार मानेको छ ।

रास्वपाले पुराना दलले यसअघिका निर्वाचनमा मतदातालाई झुक्काएको आरोप लगाएको छ । यो क्षेत्रको विकासमा पुराना दलले मतदातालाई भोट बैंकको रूपमा मात्र प्रयोग गरेकाले विकल्पको रूपमा आफ्नो दलको उम्मेदवारी रहेको रास्वपाले जनाएको छ ।

कानेपोखरी गाउापालिकाका १, २, ३, पथरी शनिश्चरे नगरपालिकाका ५ र ६, रंगेली नगरपालिकाका १, २, ३, ८ र ९ वडा, रतुवामाई नगरपालिका १० वटा वडा र सुनवर्षी नगरपालिकाका नौ वटै वडा यो क्षेत्रमा पर्छन् ।


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।