पर्वतका उम्मेदवारहरू पुरानै एजेन्डा दोहोर्‍याउँदै, स्थानीय आवश्यकता नबुझेको नागरिकको गुनासो

फाल्गुन ११, २०८२ |प्रदीप पन्त
पर्वतका उम्मेदवारहरू पुरानै एजेन्डा दोहोर्‍याउँदै, स्थानीय आवश्यकता नबुझेको नागरिकको गुनासो

पर्वत । एक लाख २५ हजार ४ सय ६६ जना मतदाता रहेको पर्वतको जनसंख्या भने एक लाख ३० हजार ८ सय ८७ रहेको छ । 

एउटा मात्र निर्वाचन क्षेत्र रहेको पर्वतमा सात स्थानीय तहका ६१ वडाका अधिकांश नागरिक कृषिमा आश्रित छन् । निर्वाचनको संघारमा उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर पूर्वाधार र विकासका पुरानै एजेन्डा दोहोर्‍याउँदै मत मागिरहँदा नागरिक भने स्थानीय आवश्यकता र प्राथमिकता नबुझेकोमा असन्तुष्ट छन् ।

निर्वाचन क्षेत्र नं-१ मात्र रहेको पर्वतमा यतिबेला फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको सरगर्मी बढेको छ । कुस्मा सरदमुकामदेखि तीन किलोमिटर उत्तरमा रहेको गोदाम गाउँका एक सय ५० घरपरिवारलाई वर्षौंदेखि बाँदरले सताउँदा बस्ती नै विस्थापित हुने अवस्थामा पुगेको छ । 

बाँदर नियन्त्रण गरी सुरक्षित रूपमा बसोबास गर्न सक्ने वातावरण मिलाइदिन, रोजगार, शिक्षा, स्वास्थ्य र गाउँको विकासमा जोड दिन मतदाताको आग्रहभन्दा भोटलाई प्राथमिकता दिँदा स्थानीय निराश बनेका छन् ।निर्वाचनको समयमा नागरिकसँग नजिक हुने तर विजयी भएर गएपछि गाउँका समस्या जस्ताको तस्तै रहने गरेका छन् । 

रोजगारी नहुँदा युवा जनशक्ति विदेश पलायन हुनुपर्ने, गाउँमा उत्पादित वस्तुको उचित बजार नपाउनु यहाँका साझा समस्या हुन् । त्यसैगरी कृषि क्षेत्रले प्राथमिकता नपाउनु, सडक सञ्जालको विस्तार हुन नसक्नु पनि यहाँको अर्को मुख्य समस्या रहेको स्थानीय बताउँछन् ।

मतदाता भने आगामी दिनमा नागरिकका समस्या नजिकबाट नियल्ने र परेको बेलामा साथ दिने प्रतिनिधिको खोजीमा छन् । विगतका निर्वाचनमा निरन्तर जितेका र अहिले पनि मैदानमा रहेका उम्मेदवारहरूले भने यसअघि भएका कमी कमजोरी सुधार्दै आगामी दिनमा मतदाताकै भावनाअनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

रास्वपा, नेकपा र अन्य दल तथा स्वतन्त्र उम्मेदवाहरू भने जनताकै साथमा रहने गरी परिवर्तनको लहर ल्याउने दाबी गर्दछन् । निर्वाचन नजिकिँदै गर्दा पर्वतमा मतदाता शिक्षा, मतदान केन्द्र एवं कर्मचारी व्यवस्थापन, निर्वाचन आचारसंहिता अनुगमनलगायतका अन्य कार्यसमेत तीव्र पारिएको छ ।

पर्वतमा १३ राजनीतिक दल र ४ स्वतन्त्र गरी १७ जना उम्मेदवार यस पटकको चुनावमा उत्रिएका छन् ।


Image

प्रदीप पन्त

पन्त कान्तिपुर टेलिभिजनका बागलुङ संवाददाता हुन् ।