अर्घाखाँचीमा शान्तिपूर्ण र निष्पक्ष रूपमा चुनाव सम्पन्न गर्ने विषयमा प्रशिक्षण प्रदान

फाल्गुन ११, २०८२ |रुद्रमणि भुसाल
अर्घाखाँचीमा शान्तिपूर्ण र निष्पक्ष रूपमा चुनाव सम्पन्न गर्ने विषयमा प्रशिक्षण प्रदान

अर्घाखाँची । अर्घाखाँचीमा आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालयले निर्वाचन अधिकृत तथा सहायक निर्वाचन अधिकृतलाई शान्तिपूर्ण र निष्पक्ष रूपमा चुनाव सम्पन्न गर्ने विषयमा प्रशिक्षण प्रदान गरिएको छ । 

प्रशिक्षणमा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय बनाउन अपनाउनुपर्ने कानुनी तथा प्रशासनिक प्रक्रियाबारे निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत गरी ४ सय १४ जना प्रशिक्षण दिइएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले जानकारी दिनुभयो ।

तालिमका क्रममा मतदान केन्द्र व्यवस्थापन, सुरक्षा समन्वय, आचारसंहिता पालना, मतदाता परिचय सुनिश्चित गर्ने प्रक्रिया, मतपेटिका तथा मतदान सामग्रीको सुरक्षित ढुवानी, निर्वाचनमा प्रयोग हुने मतपत्र, मतपेटिका, छाप, फाराम, अभिलेख र अन्य आवश्यक सामग्रीको सही प्रयोग तथा संरक्षणबारे पनि जानकारी गराइएको जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका प्रमुख बुद्ध प्रकाश पौडेलले जानकारी दिनुभयो । 

निर्वाचन प्रक्रियामा कुनै प्रकारको विवाद, अवरोध वा असहज अवस्था सिर्जना भएमा कसरी समाधान गर्ने भन्ने विषयमा समेत सहभागी अधिकृतहरूलाई जानकारी दिएको प्रमुख जिल्ल अधिकारी तोय नारायण सुवेदीको भनाइ छ । प्रशिक्षणले सम्बन्धित अधिकृतहरूलाई जिम्मेवारीप्रति थप सजग र सक्षम बनाउँदै निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । 

अर्घाखाँचीमा १ सय २ वटा मतदानस्थाल र २ सय ९ वटा मतदानकेन्द्र रहेका छन् । अर्घाखाँचीमा निर्वाचन सम्पन्न गर्न १२ सय ७० जना कर्मचारी खटिनेछन् ।


Image

रुद्रमणि भुसाल

भुसाल कान्तिपुर टेलिभिजनका अर्घाखाँची संवाददाता हुन् ।