
वीरगन्ज । पछिल्लो समय वीरगन्जमा विकसित समस्यालाई लिएर स्थानिय प्रशासनले अनिश्चितकालका लागि कर्फ्यु लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले साेमबार बिहान ९:४५ बजेदेखि लागु हुनेगरी अर्को आदेश नहुन्जेलसम्म वीरगन्जको निश्चित सिमानामा अत्यावश्यक कार्यवाहेक भेला जम्मा र प्रदर्शन गर्न नपाउने गरी कर्फ्युको आदेश जारी गरेको हो । आइतबार राति वीरगन्ज महानगरपालिका-११ श्रीपुरमा दुई समूहबीच मोटरसाइकल पार्किङ्गको विषयलाई लिएर विवाद भई सामान्य झडप भएको थियो ।
केही युवाहरूबीच भएको सामान्य विवाद र कुटपिटपछि दुवै पक्षका मानिसहरू जम्मा भई एकअर्काविरुद्ध नाराबाजी गरेका थिए । स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरिएकाे थियो । पूर्वमा बाईपास रोड, पश्चिम सिर्सिया नदी, उत्तर गण्डक चोक र दक्षिण शंकराचार्य गेटभित्र भेलाजम्मा र प्रदर्शन गर्न नमिल्ने गरी कर्फ्यु जारी गरिएको प्रशासनद्वारा जारी आदेशमा उल्लेख छ ।
अहिले वीरगन्जको अवस्था सामान्य भएपनि हुनसक्ने सम्भावित घटनालाई लिएर कर्फ्यु जारी गरिएको प्रशासनले जनाएको छ ।