त्रिशूलीमा बस खस्दा दुई विदेशीसहित १९ यात्रुको मृत्यु

घाइतेको काठमाडौंका अस्पतालमा उपचार हुँदै
फाल्गुन ११, २०८२ |पोषनाथ अधिकारी
त्रिशूलीमा बस खस्दा दुई विदेशीसहित १९ यात्रुको मृत्यु

धादिङ। पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ । 

घाइतेमध्ये २४ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएकोमा एक जनाको मृत्यु भएसँगै मृतकको संख्या १९ पुगेको हो । धादिङको बेनीघाट रोराङ गाउँपालिकाको चरौदी नजिकै रहेको चाइनाधाराबाट साेमबार बिहान करिब सवा १ बजेतिर ग २ ख १४२१ नम्बरको बस त्रिशूलीमा खसेको थियो । 

जिल्ला ट्राफिक कार्यालय धादिङका प्रमुख शिशिर थापाका अनुसार घटनास्थलमा १७ जनाको मृत्यु भएको हो भने दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा दुई विदेशी नागरिक र ६ जना महिला छन् । बसमा ४४ भन्दा बढी यात्रु सवार रहेको बताइएको छ ।

धादिङ प्रहरीका अनुसार मृत्यु हुनेमा बेलायती नागरिक २४ वर्षीय स्टेवार्ट डोमिनिक एथान, पोखरा ३० का ४० वर्षीय विवेक बास्तोला, काठमाडौं नागार्जुन ६ का ६३ वर्षीय चन्द्रबहादुर कुँवर, तनहुँको ब्यास ४ का ४० वर्षीय ओमकुमार मल्ल, धादिङ सल्यानकोट ८ का इन्जिनियर ठकुरी, तनहुँको शुक्लागण्डकी ७ की विष्णुमाया ढकाल, काठमाडौं बौद्ध टुसालका लोप्साङ गोले, तनहुँको भीमान ६ का हरिप्रसाद सिग्देल र पाल्पाको तानसेन २ का नविन्द्र श्रेष्ठको सनाखत भएको छ ।

हाल १४ जनाको राष्ट्रिय ट्रमा सेन्टर, १० जनाको नेशनल मेडिकल कलेज कलंकी र न्युजिल्यान्डका नागरिक मारी एभाडीको टिचिङ अस्पताल मलेखुमा उपचार भइरहेको धादिङ प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै उद्धारमा नेपाली सेना, सशस्त्र बल, नेपाल प्रहरी र स्थानीय सहभागी भएका थिए । उनीहरूले डुंगाबाट उद्धार गरेका थिए । घटना राति भएको र पर्याप्त उपकरण नभएकाले उद्दारमा थप कठिनाइ भएको थियो ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।