
काभ्रे । जिल्ला निर्वाचन कार्यालय काभ्रेको आयोजनामा जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूसँग मतदाता शिक्षा तथा निर्वाचन तयारीसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा जिल्लाको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ। आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा काभ्रे जिल्लामा दुई निर्वाचन क्षेत्र रहेका छन्। जिल्लाभर १७९ मतदानस्थल, ४०१ मतदान केन्द्र, १ अस्थायी मतदान केन्द्र तथा २२ वटा अति संवेदनशील मतदान केन्द्र रहेकाे कार्यक्रममा जानकारी गराइएको छ।
अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै प्रजिअ गोपाल कुमार अधिकारीले सञ्चारकर्मीहरूले सही सूचना प्रवाह गर्दा नागरिकमा मतदाता शिक्षा, सुरक्षा सचेतना तथा निर्वाचनप्रति विश्वास बढ्ने बताउनुभयो। उहाँले आगामी निर्वाचनका लागि आम मतदातालाई सुरक्षित रूपमा ढुक्क भएर मतदान गर्न अपील गर्दै बदर मत कम गर्न र संवेदनशील परिस्थितिमा राज्यले आह्वान गरेको निर्वाचनलाई सबै मिलेर सफल बनाउन आग्रह गर्नुभयो।
कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृतले निर्वाचन तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै मतदानका लागि प्रयोग हुने सबै मतपत्र जिल्लामा आइपुगिसकेको स्पष्ट पार्नुभयो। उहाँकाअनुसार मतपत्रको सुरक्षित भण्डारण, वितरण व्यवस्थापन तथा मतदानस्थलसम्म पुर्याउने कार्ययोजना समेत तयारी अवस्थामा रहेको छ।
कार्यक्रममा निर्वाचन आयोगले गरेका तयारी, आम निर्वाचनका कार्ययोजना तथा मतदाता शिक्षासम्बन्धी गतिविधिबारे जानकारी दिइएको थियो। अन्तरक्रियामा सञ्चारकर्मी, निर्वाचन अधिकृत तथा सुरक्षाकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।