
बुटवल । प्रधानमन्त्री शुशिला कार्कीले लुम्बिनी प्रदेशमा खुला सिमाना, अवैध हतियार, दलिय मुठभेड र निर्वाचनमा भाग नलिने समूह चुनौतिका रूपमा देखिएको बताउनुभएको छ ।
बुटवलमा शनिबार आयोजित लुम्बिनी प्रदेशको चुनावी माहोल र आवश्यक सुरक्षा रणनीतिबारे सुरक्षाकर्मी तथा सरोकारवालाहरूको अन्तरक्रियामा प्रधानमन्त्री कार्कीले निर्वाचनको पूर्वसन्धयामा रहेको फागु पूर्णिमामा हुने गतिविधि पनि सुरक्षाका हिसावले संवेदनशिल रहेको बताउनुभएको हो ।
लुम्बिनी प्रदेशका प्रहरी प्रमुख, सेना प्रमुख, प्रमुख सचिव एवं प्रमुख जिल्ला अधिकारीहरूको सुरक्षा ब्रिफिङपछि बोल्दै प्रधानमन्त्री कार्कीले अवैध हतियार र साना हतियारको जोखीमबाट सचेत रहन आग्रह गर्नुभयो । प्रधानमन्त्री कार्कीले चुनाव भाँड्न असुरक्षा र अराजकताको हल्ला फैलाउनेप्रति सचेत रहन निर्देशन दिनुभयो ।
उहाँले आफ्नो अस्थित्व बचाउन जनमत नभएका केही दल र समूहले असुरक्षाको हल्ला चलाएको बताउँदै त्यस्ता समूहको हल्ला चिरेर अगाडि बढ्न सुरक्षाकर्मीहरूलाई निर्देशन दिनुभयो । प्रधानमन्त्री कार्कीले हिमाल पहाड र तराईका जिल्ला रहेको लुम्बिनी आफैं सम्भावना र चुनाैती बोकेको प्रदेश रहेकाले सुरक्षाको तयारी चुस्त बनाउन र कुनै दलबीच हुनसक्ने झडप र मुठभेडलाई निगरानीमा राख्न निर्देशन दिनुभयो ।
लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काम्रीले तीन तहकै सुरक्षा अधिकारीको समन्वयमा लुम्बिनीमा चुनावी सुरक्षा चुस्त राख्ने काम गरीरहेको बताउनुभयो । उहाँले जनसंख्या, फरक समुदाय र खुला सीमाका कारण रूपन्देही कपिलवस्तु र बांकेमा थप संवेदनशीलता अपनाएको समेत जानाकारी दिनुभयो ।