
पाल्पा । सुक्खायाम लागेसँगै तराईका जिल्लाबाट शीतलताका लागि तानसेन आउनेको लर्को लाग्छ ।
छिमेकी मुलुक भारतबाट समेत पर्यटक यहाँ आउने गर्छन् । सुनौली नाका र लुम्बिनीबाट सडक यात्रामा डेढ घन्टा दूरीमा पुरानो पहाडी सहर पाल्पाको तानसेन पुग्न सकिन्छ । पर्यटकीय सम्भावना बोकेको पाल्पाको विकासका लागि यसपटक पनि दल तथा उम्मेदवारले विकासका लागि पुरानै नारा दोहोर्याइरहेका छन् ।
मतदानको मिति नजिकिएसँगै पाल्पामा पनि चुनावी चहलपहल ह्वात्तै बढेको छ । निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको तानसेनलाई यतिबेला दल र मतदाता घरदैलो र चुनावी अभियानमा व्यस्त छन् । यसपटक १४ दल र दुई स्वतन्त्र गरी १६ उम्मेदवार यो क्षेत्रको चुनावी मैदानका छन् ।
उम्मेदवारले राखेका विगतका प्रतिबद्धता अनुसार काम नभएको मतदाताको गुनासा छन् । पर्यटकीय सम्भावना बोकेको तानसेनमा व्यवसायीले निर्धक्क लगानी बढाइरहेका छन्, तर पर्यटकीय पूर्वाधार विकासको गति भने अपेक्षित छैन । अव्यवस्थित बजार, साँघुरा सडक, फितलो फोहोर व्यवस्थापन, अव्यवस्थित बसपार्क र अपेक्षित लाभ लिन नसकेको टुँडिखेलले मत माग्दै हिँडेका उम्मेदवारलाई गिज्याइरहेको छ ।
श्रीनगरडाँडा, रानीमहल, रूरूक्षेत्र रिडी, भगवती तथा अमरनारायण मन्दिर परिसर विकासको पर्खाइमा छ । आसन्न निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवारले पर्यटकीय पूर्वाधार विकास, ऐतिहासिक सहरको पहिचान दिलाउने, समग्र पाल्पाको विकास गर्ने भन्दै मत मागिरहेका छन् ।
मतदाताको भने सडक स्तरोन्नति हुन नसकेको, प्रतिबद्धतापत्रमा उल्लेख भएका विषय भाषणमा सीमित भएको गुनासो छ । सेनवंशी राजा र राणाका पालामा बसेको सहर भए पनि तानसेन हरेक विकासको गतिमा पछि परेको छ । विगतमा राजनीति, आर्थिक लाभ र सीमिति व्यक्तिले मात्र लाभ लिएकाले उम्मेदवारका कुराप्रति मतदातको खासै विस्वास छैन ।
बढ्दो जनघनत्वसँगै गुरूयोजना बनाएर अघि बढ्न नसकेकाले तानसेन विकासको गतिमा अपेक्षित रूपमा अघि लाग्न सकेको छैन । तानसेनका धार्मिक स्थलहरू, नगरको बाटो सहज बनाउने, रानीमहल जाने सडक राम्रो बनाउने र श्रीनगरमा पर्यटकीय पूर्वाधार बनाउन जनप्रतिनिधि राम्रो सुझबुझ राख्न नसक्दा अहिलेसम्म पूर्वाधारको काम भएको छैन ।