
धादिङ । धादिङमा निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन मतदान केन्द्रको सुरक्षा नमुना अभ्यास सञ्चालन गरिएको छ ।
जिल्ला सुरक्षा समितिको आयोजनामा सदरमुकामस्थित खेल मैदानमा चारवटै सुरक्षा निकायलाई परिचालन गरी निर्वाचनको झल्को दिने गरी सुरक्षा अभ्यास गरिएको हो । निर्वाचनको दिन शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले मतदान केन्द्रको सुरक्षा व्यवस्थापन, भीड नियन्त्रण, मतदाता सहजीकरण, आकस्मिक अवस्था व्यवस्थापन तथा कानुनी दायित्वका विषयमा व्यावहारिक अभ्यास गराइएको थियो ।
मतदान स्थल वरपरको सुरक्षा घेरा व्यवस्थापन तथा संवेदनशील परिस्थितिमा अपनाउनुपर्ने कार्यविधिबारे पनि अभ्यासलाई केन्द्रित गराइएको थियो । धादिङमा २ हजार १०४ जना निर्वाचन प्रहरी भर्ना गरिएको छ ।