धादिङ-२ मा चुनावी सरगर्मी : मतदाता रिझाउन उम्मेदवारहरू घरदैलो र सभामा व्यस्त

२४ उम्मेदवार मैदानमा, मुख्य दलबीच कडा प्रतिस्पर्धा
फाल्गुन ८, २०८२ |पोषनाथ अधिकारी
धादिङ-२ मा चुनावी सरगर्मी : मतदाता रिझाउन उम्मेदवारहरू घरदैलो र सभामा व्यस्त

धादिङ । मतदानको मिति नजिकिँदै जाँदा धादिङमा पनि निर्वाचनको चहलपहल बढेको छ । 

सदरमुकाम रहेको निर्वाचन क्षेत्र नम्बर-२ मा सबै दलका उम्मेदवार घरदैलोमा व्यस्त छन् । सबै आ-आफ्ना एजेन्डा लिएर मतदाताको रिझाउन व्यस्त छन् । निर्वाचनको मिति नजिकिएसँगै धादिङ निर्वाचन क्षेत्र नं. २ मा पनि चुनावी सरगर्मी बढ्दै गएको छ । यहाँ २४ जना उम्मेदवार मैदानमा छन् । जसमध्ये ८ जना स्वतन्त्र उम्मेदवार छन् ।

२०६४ यता तत्कालीन नेकपा (माओवादी)ले एक, एमालेले दुई र नेपाली कांग्रेसले एक पटक जितेको यो निर्वाचन क्षेत्रमा रास्वपा पनि प्रतिस्पर्धी देखिएको छ । चुनावी मैदानमा रहेका सबै उम्मेदवारले आफूलाई बलियो प्रतिस्पर्धीका रूपमा प्रस्तुत गरिरहेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार रमेश धमला पूर्वजिल्ला सभापति भइसकेका नेता हुनुहुन्छ । कांग्रेसको संगठनात्मक संरचना यो क्षेत्रमा बलियो मानिन्छ । २०७९ सालको स्थानीय तह निर्वाचनमा ६ स्थानीय तहमा जितेकाले पनि कांग्रेसले आफ्ना उम्मेदवारले जित्न दाबी गरिरहेको छ । 

यता, एमालेका उम्मेदवार धनबहादुर घले २०७० मा धादिङ-१ बाट निर्वाचित संविधान सभा सदस्य हुनुहुन्छ । २०६४ यताका दुई निर्वाचन एमालेले जितेको र अन्य दलमा आएको फुट-गुटले आफ्नो दललाई थप सहज हुने एमालेले तर्क अघि सारेको छ ।

यता नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रामबहादुर भण्डारी पनि यसअघि कुनै लाभको पदमा नपुगेकाले मतदाताले आफूलाई रोज्ने दाबी गरिरहनुभएको छ । रास्वपाका उम्मेदवार बोधनारायण श्रेष्ठको पनि विगतको आफ्नो सामाजिक अभियानले मतदाता आकर्षित गर्ने रणनीति देखिन्छ ।

२०७९ सालको निर्वाचन परिणामलाई हेर्दा यो क्षेत्रमा कांग्रेस र माओवादीको संयुक्त गठबन्धन बलियो देखिएको थियो । तर, २०७४ को निर्वाचनमा भने एमाले र माओवादीको वाम गठबन्धनबाट एमालेले नै बाजी मारेको थियो । गत निर्वाचनको समानुपातिक मत परिणामअनुसार कांग्रेस २० हजार ९ सय ५७ मतका साथ अग्रस्थानमा छ । 

एमाले १६ हजार २ सय ७५, माओवादी ११ हजार ४ सय ९४ र रास्वपाको ५ हजार ६ सय २८ मतसहित चौथो स्थानमा थिए । धादिङका चिया पसलदेखि चौतारीसम्म यिनै ४ दल र उम्मेदवारमध्ये कसले बाजी मार्ला भन्ने चर्चा बढिरहेकै छ । निर्वाचनको मत परिणामका लागि भने अझै केही दिन कुर्नैपर्ने छ ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।