रूपन्देहीमा उन्नत गहुँ खेती प्रविधिसम्बन्धी तालिम

फाल्गुन ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
रूपन्देहीमा उन्नत गहुँ खेती प्रविधिसम्बन्धी तालिम

रूपन्देही । किसानहरूलाई गहुँका नयाँ जातबारे पर्याप्त जानकारी नहुँदा, नयाँ जात विकास भए पनि उत्पादन आशा गरेअनुसार बढ्न नसकेपछि खेती प्रविधिसम्बन्धी तालिम दिन थालिएको छ ।

रूपन्देहीमा उन्नत गहुँ खेती प्रविधिसम्बन्धी तालिम सञ्चालन गरिएको हो । राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमअन्तर्गत किसानहरूलाई उन्नत जातको गहुँ खेती र उत्पादन वृद्धि गर्ने नयाँ प्रविधिबारे जानकारी दिएको छ । तालिममा किसानहरूले जलवायु परिवर्तनको असर सहन सक्ने गहुँका जात, भौगोलिक क्षेत्रअनुसार उपयुक्त जात छनोट गर्ने तरिका तथा उत्पादन वृद्धि गर्ने प्रभावकारी उपायहरू अभ्यासमार्फत सिकिरहेका छन् ।

नेपालमा पछिल्लो ६ दशकमा ५४ वटा उन्नत गहुँका जात विकास गरिएको छ । केही सिफारिसको चरणमा छन् भने १३ वटा पुराना जात सिफारिस सूचीबाट हटाइएको छ । तर प्रचार-प्रसारको अभावमा किसानलाई नयाँ जातबारे जानकारी छैन । त्यसैले किसानहरू पुरानै जातका गहुँ लगाइरहेका छन् । 

कृषि वैज्ञानिकहरूका अनुसार पुराना जातको बीउ प्रयोग गर्दा उत्पादन घट्नुका साथै रोगकिराको प्रकोप बढी देखिएको छ । नयाँ जात भने रोग, किरा र जलवायु परिवर्तनको असर सहनसक्ने गरी विकास गरिएको दाबी गरिएको छ । हाल नेपालमा वार्षिक २१ लाख ४४ हजार ५ सय ६८ मेट्रिक टन गहुँ उत्पादन हुन्छ। करिब ४ लाख मेट्रिक टन गहुँ अझै आयात भैरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.