
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले सबैको समान अस्तित्व र सहभागिताका लागि कांग्रेसले मधेशबाट प्रतिज्ञापत्र सार्वजनिक गरेको बताउनुभएको छ ।
पार्टी मुख्यालय सानेपामा बुधबार आयोजित पत्रकार सम्मेलनमा उहाँले मधेशबाट प्रतिज्ञापत्र सार्वजनिक गर्नु आफैंमा सन्देश भएको बताउनुभएको हो । नेपाल सबैको साझा देश भएकाले हरेक प्रदेश र भूगोललाई समान रूपमा जोड्न आवश्यक रहेको उहाँले बताउनु भयो ।
सबै समुदायको समान अस्तित्व र समान सहभागिता सुनिश्चित गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । जनकपुरबाट प्रतिज्ञापत्र सार्वजानिक गर्नुले अपनत्व र समावेशिताको सन्देश प्रवाह गरेको उहाँको भनाइ छ । काठमाडौंबाट प्रतिज्ञापत्र सार्वजानिक गर्ने चलनलाई परिवर्तन गर्दै मधेशबाटै घोषणा गर्नु राजनीतिक सन्देशसहितको निर्णय भएको उहाँले बताउनु भयो ।
उहाँले पार्टी केवल संरचनागत रूपमा नभइ सोच र व्यवहारमा समेत परिवर्तनको दिशामा अघि बढेको दाबी गर्नुभयो । उहाँका अनुसार कांग्रेसले यसपटकको आफ्नो प्रतिज्ञापत्र मधेश प्रदेशको जनकपुरधामबाट सार्वजनिक गरेको छ । कांग्रेसले भिजन १० मा आधारित भएर प्रतिज्ञापत्र सार्वजानिक गरेको उहाँको भनाइ छ ।