‘सुदूरपश्चिम’लाई ‘सुनजिक-पश्चिम’ बनाउने संकल्प, विकासमा राजनीति नगर्ने बालेन्द्रको प्रतिबद्धता

फाल्गुन ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘सुदूरपश्चिम’लाई ‘सुनजिक-पश्चिम’ बनाउने संकल्प, विकासमा राजनीति नगर्ने बालेन्द्रको प्रतिबद्धता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिम प्रदेशको चौतर्फी विकास र सांस्कृतिक एकीकरणलाई आफ्नो मुख्य राजनीतिक एजेन्डा बनाउने घोषणा गरेको छ ।

बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले सुदूरपश्चिमको सपना पूरा गर्ने ऐतिहासिक दायित्व रास्वपाले लिने बताउनुभएको हो । पार्टीले विपन्न र गरिब नागरिकका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य उपचारलाई प्रमुख एजेन्डाका रूपमा अघि सारेको उहाँले बताउनु भयो । 

खल्तीमा पैसा नभएका कारण कोही पनि नागरिक आधारभूत सेवाबाट वञ्चित हुन नहुने धारणा राख्दै उहाँले विकास निर्माणका कार्यमा हुने ढिलासुस्ती र राजनीतिक पूर्वाग्रहको आलोचना गर्नुभयो । सडक पूर्वाधारको प्रसंगमा पार्टीले २० वर्षसम्म पनि नबन्ने सडकहरूलाई डेढ वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखेको छ । 

विकासमा दलगत भेदभाव नगरी कांग्रेस, एमाले र माओवादीलगायत सबै दलका समर्थक र आम नेपाली जनता हिँड्ने बाटो निर्माण गर्ने प्रतिबद्धता उहाँले जनाउनु भयो । सुदूरपश्चिमको पर्यटन र प्राकृतिक सम्पदाको प्रवर्द्धनमा जोड दिँदै उहाँले बडिमालिका, रामारोशन र खप्तड जस्ता क्षेत्रहरूको महत्वमा ध्यान दिनुपर्ने बताउनु भयो । 

‘देशलाई स्विजरल्यान्ड बनाउने’ पुरानो नाराभन्दा पनि यहाँको मौलिकतालाई विश्वसामू चिनाउनु पर्ने र सुदूरपश्चिमलाई काठमाडौंसँग सांस्कृतिक रूपमा जोड्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले आफू केवल भोटका लागि मात्र नभइ काम गर्नका लागि जनताको बीचमा आएको स्पष्ट पार्नुभयो । ‘सुदूर’ (टाढा) रहेको यस क्षेत्रलाई ‘सुनजिक’ (नजिक) बनाउने लक्ष्यका साथ पार्टीले जनतासँग कामको सूची (लिस्ट) मागेको उहाँले बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.