
धनुषा । मिथिला क्षेत्रको महाकुम्भ मानिने धार्मिक तथा ऐतिहासिक १५ दिने मिथिला माध्यमिकी परिक्रमा साेमबारदेखि सुरू भएको छ ।
धनुषाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मिथिला बिहारीको डोलालाई झाँकी किर्तनसहित बिदाइ गरेपछि मिथिला माध्यमिकी परिक्रमा सुरू भएको हो । सो अवसरमा मुख्यमन्त्री यादवले पर्यटकीय हबको रूपमा मिथिला माध्यमिकी परिक्रमालाई विकास गर्न प्रदेश सरकार तत्पर रहेको बताउनु भएको छ ।
फागुन औँशीदेखि पूर्णिमासम्म चल्ने मिथिला माध्यमिकी परिक्रमाअन्तर्गत मिथिला बिहारीको डोला धनुषाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट झाँकी किर्तनसहित जनकपुरको रत्नसागर मठ, जानकी मन्दिरको परिक्रमा गरेर हनुमान नगरमा ल्याइएको छ ।
मिथिला बिहारीसँगै जनकपुरका अन्य मठ-मन्दिरबाट ल्याइएका डोलाहरू हनुमान नगरमा साेमबार राति विश्राम गरेपछि विधिवत् रूपमा परिक्रमाको यात्रा सुरू हुन्छ । धनुषा, महोत्तरीको ९० किलो मिटर र भारत बिहारका ३० किलोमिटर गरी जम्मा १ सय २० किलोमिटर भू-भागमा अवस्थित धार्मिक तथा ऐतिहासिक मन्दिर तथा स्थलहरूको यात्रा गरिन्छ ।
परिक्रमाको समय परम्परागत बाजागाजा, झाँकी किर्तनसहितका मौलिक पहिरनमा लाखौं नर-नारी, साधु-सन्त र महन्थ सहभागी हुने गर्छन् । लावा लस्करसहितका मिथिलाको चारै स्थानमा रहेका धार्मिक स्थलहरूको परिक्रमा गर्ने परम्परा छ । १५ दिने मिथिला माध्यमिकी परिक्रमाअन्तर्गत जनकपुरको हनुमान नगर, भारत बिहारको कलाणेश्वर, गिरिजा स्थान, महोत्तरीको मटिहानी, जलेश्वर, मडै, धुव्रकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर, औरही हुँदै फेरि भारतको करूण, विसौल र अन्तिम दिन जनकपुरको अन्तरगृह परिक्रमा गरी सम्पन्न हुने गर्दछ ।