गड्डाचौकी नाकामा चुनावका बेला घर फर्कनेको भीडसँगै रोजगारीका लागि परदेशिनेको लर्को

चुनावपछि बन्ने सरकारले विकाससँगै स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने आशा
फाल्गुन ४, २०८२ |हरिश्चन्द्र बाग
गड्डाचौकी नाकामा चुनावका बेला घर फर्कनेको भीडसँगै रोजगारीका लागि परदेशिनेको लर्को

कञ्चनपुर । फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा सुदूरपश्चिमको पश्चिमी सीमा नाका गड्डाचौकीमा नेपालीहरूको चहलपहल बढेको छ । 

भारतमा मजदुरी गरेर घर फर्किनेहरूको भीड एकातिर छ भने रोजगारीकै खोजीमा फेरि भारततर्फ लाग्नेहरूको लर्को पनि उस्तै देखिन्छ । एउटै समय, एउटै भूगोल तर भावनामा गहिरो भिन्नता । 

बिहानैदेखि यहाँ नेपाल फर्किनेहरूको भीड देख्न सकिन्छ । प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिएसँगै भारतका विभिन्न सहरमा मजदुरी गरिरहनु भएका नेपालीहरू मतदानका लागि स्वदेश फर्किरहनु भएको छ । रोजगारीकै लागि वर्षौं परदेशमा बस्न बाध्य हुनुभएका नागरिकहरू यति बेला सीमा नाकाबाट घरतर्फ फर्कँदै गर्दा उहाँहरूमा निर्वाचनपछि बन्ने नयाँ सरकारप्रति आशा, नागरिकमैत्री नीति, विकासको अपेक्षा र स्वदेशमै रोजगारीका अवसर सिर्जना होउन् भन्ने चाहना स्पष्ट देखिन्छ ।

झोला र सुटकेस बोकेर फर्किँदै गर्नु भएका यी नागरिकहरूको अनुहारमा थकान भए पनि आँखामा भने उत्साह छ । उपचारका लागि समेत भारत जानुपर्ने धेरै नेपालीहरूको बाध्यता छ । उहाँहरू चाहनु हुन्छ, अब फेरि उपचारका लागि भारत जान नपरोस् ।

उहाँहरूका लागि यो फर्काइ घरपरिवारको माया मात्र होइन, लोकतन्त्रप्रतिको जिम्मेवारी पनि हो । स्वदेशमा बेरोजगारीका कारण वर्षौं परदेश बस्न बाध्य हुनु भएका नागरिकहरू यति बेला मताधिकार प्रयोग गर्न पाउने आशामा खुसी देखिनु हुन्छ । तर, यही कञ्चनपुरको महेन्द्रनगर बसपार्कमा भने अर्कै दृश्य देखिन्छ । 

साँझ पर्नासाथ भारततर्फ जाने बसहरूको लाइन लाग्छ । हातमा सानो झोला, अनुहारमा चिन्ता र मनमा अन्योल बोकेर युवाहरू फेरि रोजगारीकै खोजीमा सीमातर्फ प्रस्थान गरिरहनु भएको छ । यही बेला भारत जानेहरूको स्वरमा निराशा छ । वर्षौंदेखि परिवर्तनका आश्वासन सुन्दै आए पनि गाउँघरमा रोजगारी सिर्जना हुन सकेन । 

चुनाव नजिकिँदा नेताहरूको भाषण चर्किन्छ, तर चुनावपछि अवस्था उस्तै रहने गुनासो उहाँहरूको छ । एकातिर लोकतन्त्रमा आस्था राख्दै मत हाल्न फर्किनेहरू हुनुहुन्छ भने अर्कोतिर जीवन धान्न बाध्य भएर फेरि परदेश जानेहरू । एउटै निर्वाचन, तर नागरिकको अनुभव र अपेक्षामा गहिरो अन्तर देखिन्छ । 

निर्वाचन लोकतन्त्रको महोत्सव नै हो । तर, जबसम्म स्वदेशमै सम्मानजनक रोजगारी र स्थिर भविष्यको प्रत्याभूति हुँदैन, तबसम्म सीमा नाकाहरूमा स्वदेश फर्किनेहरूको भीडसँगै परदेश जानेहरूको लर्को पनि उस्तै रहने देखिन्छ । अब प्रश्न यही छ कि, आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनले यी नागरिकका आशा र निराशाबीचको दूरी घटाउन सक्ला त ?


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।