
काठमाडौं । आसन्न निर्वाचनका लागि भेटघाट र घरदैलोमा सीमित राजनीतिक दलले साेमबारदेखि चुनावी प्रचार-प्रसार तथा कोण सभा थालेका छन् ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार चुनावी आम सभा र प्रचार-प्रसार गर्न फागुन ४ देखि १८ गतेसम्मको समय छुट्याइएसँगै दलहरूले आफ्ना अभियान तीव्र पारेका हुन् । आयोगले दलहरूलाई दिएको १५ दिनमा आम सभा, जुलुस, कोण सभा र सञ्चारमाध्यममार्फत निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ ।
दलहरूले फागुन १८ गते राति १२ बजेसम्म प्रचार–प्रसार गर्न पाउने छन् । यसैबीच मतपत्र छपाइको काम गरिरहेको जनक शिक्षा सामग्री केन्द्रले आजै साँझसम्म बाँकी रहेको पाँच प्रदेशको मतपत्र समेत छापिसक्ने जनाएको छ। जनक शिक्षाले कर्णाली र सुदूरपश्चिम प्रदेश अन्तर्गतका निर्वाचन क्षेत्रमा मतपत्र पठाइसकेको छ ।
पहाडी र हिमाली जिल्लामा पनि मतपत्र ढुवानी सुरू गरेको जनक शिक्षाले केही दिनमै कोशीका निर्वाचन क्षेत्रमा पनि ढुवानी गर्ने जनाएको छ । निर्वाचनमा अति-आवश्यक पर्ने निर्वाचन सामग्री मंगलबारसम्ममा ढुवानी गरिसक्ने आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताउनुभयो । अहिले निर्वाचन आयोगले १ सय ६५ निर्वाचन क्षेत्रका वडा तहमा मतदाता शिक्षा अभियान सञ्चालन गरिरहेको छ।