
काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनमा हुने अत्याधिक खर्चले भ्रष्टाचारलाई प्रश्रय दिइरहेको बताउनुभएको छ ।
साेमबार निर्वाचन आयोगले गरेको अन्तरक्रियामा पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले निर्वाचनमा हुने अत्याधिक खर्चले सुशासनमा चुनौती खडा गरेको टिप्पणी गर्नुभयो । पोखरेलले ठूलो धनराशी खर्च गरेर निर्वाचन जित्ने प्रतिनिधिहरूको पहिलो प्राथमिकता खर्च असुली र आगामी निर्वाचनका लागि स्रोत जुटाउनु हुने गरेको जिकिर गर्नुभयो ।
यसले गर्दा जनप्रतिनिधिको ध्यान जनताको आवश्यकता पूर्ति गर्नुभन्दा पनि चन्दादाताको स्वार्थ सिद्ध गर्नतर्फ मोडिने गरेको उहाँको तर्क छ । उहाँले निर्वाचन खर्च सीमाभित्र राख्ने देशहरूमा मात्र भ्रष्टाचार नियन्त्रण र सुशासन सम्भव भएको स्पष्ट पार्नुभयो । अनियन्त्रित चुनावी खर्चले देशको समग्र प्रणालीलाई नै विकृत बनाउने भएकाले यसमा गम्भीर हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
आयोगका सचिव कृष्णबहादुर राउतले राजनीतिक दल तथा उम्मेदवारहरूलाई आर्थिक अनुशासनमा बाँध्न र निर्वाचन आचारसंहिता प्रभावकारी बनाउन लागिपरेको बताउनुभयो । निर्वाचन खर्च र महिला सुरक्षाका विषयमा नयाँ मापदण्डहरू सार्वजनिक गरेको उहाँले बताउनु भयो ।