नेमकिपाको घोषणा पत्र : भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गरौं

फाल्गुन ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेमकिपाको घोषणा पत्र : भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गरौं

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले भ्रष्टाचारीहर"को सम्पत्ति राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिँदै पार्टीको चुनावी घोेषणा पत्र सार्वजनिक गरेको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो पार्टीका सचिव प्रेम सुवालले ठूला भ्रष्टाचारीहरूलाई मृत्युदण्डको सजाय गर्नुपर्ने कुरा समेत घोषणा पत्रमा उल्लेख गरिएको बताउनु भयो । घोषणा पत्रमा जन्मको आधारमा नेपाली नागरिकता पाएका विदेशीका छोराछोरीलाई वंशजको आधारमा नेपाली नागरिकता दिने कानुन व्यवस्था खारेज गराउन र बुबाआमा दुवै वंशजको नेपाली नागरिकको छोराछोरीलाई मात्र वंशज नेपाली नागरिक हुने कानुन व्यवस्थाका लागि संघर्ष चालु राखिने भनिएको छ । 

त्यसैगरी विश्वविद्यालयका कुलपति, रेक्टर, रजिष्ट्रारहरू, संवैधानिक आयोगका पदाधिकारी, सेना र प्रहरीका प्रमुख, न्यायालयका न्यायाधीशहरूको सम्बन्धित क्षेत्रबाट निर्वाचित गराएर नियुक्त गर्न आवाज उठाइने प्रतिबद्धता पनि गरिएको छ । सचिव सुवालले सर्वसाधारण जनतालाई थप सेवासहित स्वास्थ्य बीमाको उपचार प्रभावकारी बनाउन जोड दिइने बताउनु भयो । 

उहाँले सहकारीमार्फत घर-घरमा काम गर्ने, कुटीर व्यवसाय, ससाना घरेलु र साना उद्योगको बन्दोबस्त गराउन सकेसहकारी संस्थाहरूमा भइरहेको ठगी नियन्त्रण हुने भएकाले सो काम गर्नका लागि पहल गरिने बताउनु भयो । कृषि उत्पादन बढाउन आवश्यक र सम्भव ठाउँहरुमा सिँचाइका नहरहरू बनाउन संघर्ष गरिने तथा मल कारखाना र बीउ-बिजनको बन्दोबस्त गरिने संकल्प पनि घोषणा पत्रमा गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.