१८ गते मध्यरातदेखि मौन अवधि सुरू हुने : निर्वाचन आयोग

आचारसंहिता उल्लंघन गर्नेको उम्मेदवारी खारेजीसम्मको कारबाही हुनसक्छ– रामप्रसाद भण्डारी
फाल्गुन ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
१८ गते मध्यरातदेखि मौन अवधि सुरू हुने : निर्वाचन आयोग

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।

निर्वाचन आयोगले फागुन ३ गते राति १२ बजेदेखि निर्वाचन प्रचार-प्रसारको १५ दिने समय सीमा सुरू भएको घोषणा गरेको हो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीकाअनुसार राजनीतिक दल र उमेदवारहरूले फागुन १८ गते राति १२ बजेसम्म मात्र जुलुस, आमसभा र प्रचार प्रसारका कार्यक्रमहरू गर्न पाउनेछन् । 

त्यसपछि ‘मौन अवधि’ सुरू हुने र यस समयमा कुनै पनि प्रकारका चुनावी गतिविधि, छलफल वा ‘कानेखुसी’ गर्न समेत निषेध गरिएको उहाँले बताउनुभयाे । राजनीतिक दलहरूले निर्वाचन खर्चका लागि अनिवार्य रूपमा छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था गरिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताउनु भयो । 

आमसभा वा कोणसभा गर्दा मञ्च तयारीमा लागेको खर्चको विवरण उम्मेदवार स्वयं वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ । स्वेच्छिक आर्थिक सहयोग लिँदा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को परिधिभित्र रहनुपर्ने आयोगको स्पष्ट निर्देशन छ । 

भण्डारीकाअनुसार नेपाल सरकार, प्रदेश सरकार र मन्त्रीहरूले निर्वाचन प्रचार-प्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न पाउने छैनन् । यसको कडा निगरानीका लागि केन्द्रीय र जिल्ला स्तरीय अनुगमन समितिहरू सक्रिय पारिएको उहाँले बताउनु भयो । 

अधिकांश दलहरूले निर्वाचनका लागि आफ्नो घोषणा पत्र वा प्रतिबद्धता पत्र आयोगमा पेस गरिसकेको उहाँले बताउनु भयो । आइतबार रातिसम्मको समय सीमा तोकिएको र केही दलहरू अझै प्रक्रियामा रहेको आयोगले जानकारी दिएको उहाँले बताउनु भयो । मुलुकको सुशासन र विकासका योजनाहरू समेटिएको यो दस्तावेज दलहरूको कानुनी र नैतिक दायित्व रहेको कार्यवाहक आयुक्त भण्डारीले बताउनु भयो ।

आयोगले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्ने अधिकार सुरक्षित गर्न कर्मचारी, सुरक्षा निकाय, पर्यवेक्षक र आम मतदातालाई सहयोगको अपील गरेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.