
काठमाडौं । निर्वाचन आयोगले फागुन ४ गतेदेखि १८ गतेसम्म प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रचार-प्रसारको समय तोक्दै सरोकारवालाहरूलाई आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ ।
निर्वाचन आयोगले तोकिएको कार्यतालिका बमोजिम राजनीतिक दल र उम्मेदवारहरूलाई चुनावी प्रचारप्रसारका लागि निश्चित समयसीमा प्रदान गरेको हो । आयोगकाअनुसार २०८२ फाल्गुन ३ गते राति १२ बजेपछि अर्थात् फागुन ४ गतेदेखि सुरू हुने यो प्रचार अवधि फागुन १८ गते राति १२ बजेसम्म कायम रहने आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनु भयो ।
उहाँकाअनुसार आयोगले प्रचार-प्रसारका क्रममा राजनीतिक दल, उम्मेदवार, नेता, प्रतिनिधि र शुभेच्छुकहरूलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ । सञ्चारकर्मीहरूसँगको भेटघाटमा आयोगले आचारसंहिताको सीमा रेखाभित्र रहेर मात्र चुनावी गतिविधि सञ्चालन गर्न र कुनै पनि प्रकारको उल्लंघन नगर्न सबै सरोकारवालाहरूलाई सचेत गराएको छ ।