
राजविराज । महाशिवरात्रिको अवसरमा राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिर परिसरमा आइतबार भव्य झाँकी प्रदर्शन गरिएको छ।
शिव-पार्वती तथा भोलेनाथको झाँकीसहित नगर क्षेत्रमा धार्मिक तथा सांस्कृतिक माहोल देखिएको थियो। मन्दिर संरक्षण तथा संवर्द्धन समितिको आयोजनामा भएको उक्त झाँकी कार्यक्रममा स्थानीय भक्तजनको उल्लेखनीय सहभागिता रहेको थियो। साँझ धार्मिक तथा सांस्कृतिक कार्यक्रम, भजन-कीर्तन तथा प्रस्तुति समेत आयोजना गरिएको समितिका अध्यक्ष ध्रुव देवले जानकारी दिनुभयाे।
महाशिवरात्रिका अवसरमा बिहानैदेखि मन्दिरमा भक्तजनको ठूलो भीड लागेको थियो। श्रद्धालुहरूले जल, दूध र बेलपत्र चढाइ पूजा-अर्चना गरेका थिए। मन्दिर क्षेत्रमा विशेष सुरक्षा तथा व्यवस्थापनसमेत गरिएको आयोजकले जनाएको छ।