सप्तरीका शिवालयहरूमा भक्तजनको घुइँचो, विभिन्न संघ-संस्थाद्वारा निःशुल्क पूजा सामग्री वितरण

फाल्गुन ३, २०८२ |आरएन विश्वास
सप्तरीका शिवालयहरूमा भक्तजनको घुइँचो, विभिन्न संघ-संस्थाद्वारा निःशुल्क पूजा सामग्री वितरण

राजविराज । महाशिवरात्रिको अवसरमा सप्तरीका प्रमुख शिवालयहरूमा आइतबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।

सदरमुकाम राजविराजस्थित शिव मन्दिर, महदेवास्थित अंकुरी महादेव मन्दिर, बलुवास्थित भजनेश्वर महादेव मन्दिर तथा लालापट्टीस्थित लालेश्वरनाथ महादेव मन्दिरमा दर्शनार्थीहरूको पूजा दर्शन गर्न भीड लागेको हो। यसै अवसरमा विश्व हिन्दु युवा संघ सप्तरीले राजविराजस्थित शिव मन्दिर परिसरमा सयौँ भक्तजनलाई निःशुल्क फूल, बेलपत्र र दूध वितरण गरेको छ। 

संघका अध्यक्ष दिपेश देव जोशीका अनुसार धार्मिक आस्था र सामाजिक सेवाको भावनासहित हरेक वर्षझैँ यसवर्ष पनि कार्यक्रम सञ्चालन गरिएको हो। त्यस्तै राजविराज जेसीजले पनि शिव भक्तजनहरूका लागि निःशुल्क बेलपत्र तथा दूध वितरण गरेको जनाएको छ। 

शाखा अध्यक्ष रविकुमार रायले महाशिवरात्रि आत्मशुद्धि, संयम र सेवाभावको प्रतीक भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे। निःशुल्क पूजा सामग्री वितरण कार्यक्रमले भक्तजनलाई सहजता प्रदान गर्नुका साथै धार्मिक सद्भाव र सामाजिक एकताको सन्देश दिएको स्थानीयले बताएका छन्।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।