
महोत्तरी । महोत्तरी सदरमुकाम जलेश्वरस्थित जलेश्वरनाथ महादेव मन्दिरमा आइतबार शिवरात्रीको अवसरमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ ।
जलभित्रै रहेको शिवलिङ्गको दर्शन गर्नका लागि हजारौं श्रद्धालु भक्तजनहरूको बिहानैदेखि भीड लागेको हो । शिवरात्रिमा दिनभरि नै जलगुफाबाट जलनिकाली हजारौं दर्शनार्थीलाई शिवलिङ्ग दर्शन गराइने हुँदा महिला र पुरूष दर्शनार्थीहरू बिहानैदेखि दर्शनको लागि लामबद्ध भएर दर्शन गर्नका लागि पुगेका छन् ।
बाह्रै महिना शिवजीको लिङ्ग जलभित्रै रहने भएकाले यो महादेवको नाम नै जलेश्वरनाथ महादेव राखिएको हो । फागुन कृष्ण त्रयोदशीका दिन मनाइने शिवरात्रि पर्वका लागि जलेश्वरमा प्रत्येक वर्ष विशेष तयारी गर्ने गरिन्छ । यसका लागि स्थानीय सरकारका साथै स्थानीय प्रशासनको समेत सक्रियता रहन्छ ।
शिवरात्रिमा जलेश्वरनाथ महादेवको दर्शनकालागि महिला तथा पुरूषका लागि अलग-अलग लाइन लगाइएको छ भने सयौँ संख्यामा स्वयंसेवकहरू समेत खटाइएका छन् । ग्रन्थहरूमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिको महत्व वर्णन गरिएको छ ।
यीमध्ये पनि फागुन कृष्ण त्रयोदशीमा मनाइने शिवरात्रिको विशेष महत्व रहेको मानिन्छ । भक्तजनहरू शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।