महाशिवरात्रिमा देशभरका शिवालयमा भक्तजनको घुइँचो, सिद्धबाबा र हलेसीमा विशेष मेला

फाल्गुन ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
महाशिवरात्रिमा देशभरका शिवालयमा भक्तजनको घुइँचो, सिद्धबाबा र हलेसीमा विशेष मेला

काठमाडौं । महाशिवरात्रिको अवरामा सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३, दोभानस्थित सिद्धबाबा मन्दिरमा आइतबार बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ ।

सिद्धबाबा मन्दिरमा बिहान ३ बजे नै मूल मन्दिर खुला गरिएको थियो । सिद्धपुरूष भर्तृहरिको तपोभूमि तथा आदिमानव रामपिथेकसको विचरणस्थलका रूपमा परिचित सिद्धबाबामा शिवरात्रिमा मन्दिर दर्शन गर्न हजारौं श्रद्धालु पुग्ने गरेको सिद्धबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सन्तोष शेरचनले जानकारी दिनुभयो । 

सिद्धबाबामा छिमेकी मुलुक भारतबाटसमेत श्रद्धालु भक्तजन दर्शनका लागि आएका छन् । त्यस्तै शिवरात्रीको अवसर पारेर खोटाङको हलेसीमा पूजाआजा गर्ने र मेला भर्नेको भीड लागेको छ । हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको त्रिवेणीस्थल हलेसीमा शिवरात्रिका अवसरमा लाग्ने मेला भर्न र दर्शन गर्न आउने दर्शनार्थीको बिहानैदेखि भीड लागेको हो । 

मेलामा भारत, चीन, भुटान, बङ्गलादेश, कोरियालगायतका मुलुकबाटसमेत दर्शनार्थी आएका छन् । महाशिवरात्रिको अवसरमा सप्तरीका प्रमुख शिवालयहरूमा पनि आइतबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। सदरमुकाम राजविराजस्थित शिव मन्दिर, महदेवास्थित अंकुरी महादेव मन्दिर, बलुवास्थित भजनेश्वर महादेव मन्दिर तथा लालापट्टीस्थित लालेश्वरनाथ महादेव मन्दिरमा दर्शनार्थीहरूको पुजा दर्शन गर्न भीड लागेको हो। 

यसै अवसरमा विश्व हिन्दु युवा संघ सप्तरीले राजविराजस्थित शिव मन्दिर परिसरमा सयौँ भक्तजनलाई निःशुल्क फूल, बेलपत्र र दूध वितरण गरेको छ। शिवरात्रिका अवसरमा भक्तपुरको डोलेश्वर मन्दिरमा पनि बिहानैदेखि भीड लागेको छ । सल्यानको छायाँक्षेत्र, दाङको धारापानीलगायतका शिवालयहरूमा पनि बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.