आज महाशिवरात्रि पर्व, पाशुपत क्षेत्रलगायत देशभरका शिवालयमा भक्तजनको भीड

फाल्गुन ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
आज महाशिवरात्रि पर्व, पाशुपत क्षेत्रलगायत देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडौं । प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशीमा मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज देशभर मनाइँदैछ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजाआराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ ।

महाशिवरात्रिको अवसरमा पशुपतिनाथ दर्शन र पूजाका लागि विहानैदेखि भक्तजनहरूको बाक्लो चहलपहल सुरु भएको छ । महाशिवरात्रि लागि पशुपतिनाथ परिसर फूलमालाले सजाउनुका साथै बिजुली बत्तीले झिलिमिली पारिएको छ । शिवरात्रीका लागि भारतसहित देशका विभिन्न स्थानबाट हजारौं साधुसन्त पशुपति आइसकेका छन् ।

पशुपतिनाथ दर्शन गर्न आउनेका लागि आज बिहान २ बजेबाटै मन्दिरको चारवटै ढोका खोलिएका छन् ।

यसपटक आठ लाखभन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ ।

ट्राफिक प्रहरीसँगको समन्वयमा तिलगंगा आँखा अस्पताल वरपर, सिफल चौर, गौरीघाट गुहेश्वरीपारि र कोषको कार्यालयमा पार्किङको व्यवस्था गरिएको छ ।

भक्तजनको सुरक्षा तथा सहजताका लागि आठ हजारभन्दा बढी सुरक्षाकर्मी खटिनेसमेत कोषले जनाएको छ । लाइन बसेको डेढ घण्टासम्ममा दर्शन र पूजा गर्ने गरी सहज व्यवस्थापन गरिएको छ । यस्तै भोजन, पानी, जुत्ताचप्पल राख्ने, स्वास्थ्य शिविरलगायतको पनि व्यवस्था गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.