काठमाडौं-३ मा चुनावी माहोल : पुराना र नयाँबीच रोमाञ्चक प्रतिस्पर्धा

फाल्गुन २, २०८२ |अञ्जना लामिछाने
काठमाडौं-३ मा चुनावी माहोल : पुराना र नयाँबीच रोमाञ्चक प्रतिस्पर्धा

काठमाडौं । यसपटकको निर्वाचनमा चर्चा र चासोमा रहेकामध्ये एक क्षेत्र हो काठमाडौं-३, जहाँ भावी प्रधानमन्त्रीको रूपमा आफूलाई दाबी गर्दै आउनुभएका उज्यालो नेपाल पार्टीक अध्यक्ष कुलमान घिसिङ उम्मेदवार हुनुहुन्छ । 

यो क्षेत्रबाट २०६४ सालदेखि नै आलोपालो चुनाव जित्दै आएका नेपाली कांग्रेस र एमाले पनि आफ्नो विरासत जोगाउने प्रयासमा छन् । रास्वपाले पनि यहाँ काठमाडौं महानगरपालिकाका पूर्वप्रहरी प्रमुख राजु पाण्डेलाई उठाएको छ । यहाँको चुनावी माहोल के छ ?

फागुन २१ को निर्वाचनमा सबैभन्दा बढी चर्चा रहेको क्षेत्रमध्येको एक हो काठमाडौं निर्वाचन क्षेत्र नम्बर-३ । खासगरी भावी प्रधानमन्त्रीकै रूपमा आफूलाई दाबी गर्दै आउनुभएका उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङ उम्मेदवार रहेकाले पनि यो क्षेत्रको चर्चा बढी भएको हो । 

अर्कोतिर नेपाली कांग्रेस र नेकपा (एमाले) २०६४ सालदेखि नै आलोपालो विजयी हुँदै आएको यो क्षेत्रमा यस पटक नयाँ र पुराना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै छ । तर यहाँका ग्रामीण क्षेत्रमा भने चुनावी सरगर्मी त्यति देखिएको छैन । केही फाटफूट चिया पसलमा चुनावी गफबाहेक चुनावी माहोल त्यति तातेको छैन । 

हामी आलापोट पुग्दा नयाँ र पुरानामा कसले मार्ला बाजी भन्ने गफ हुँदै थियो । कोही पुरानै आउने र मत पनि पुरानैलाई दिनुपर्ने तर्क गर्दै थिए भने केही नयाँलाई अवसर दिनुपर्ने बताइरहेको थिए । त्यसपछि हामी अन्य स्थानमा पुग्दा त्यतिधेरै चुनावी बहस भएको भेटिएन । 

चुनावी चर्चा नहुनुको कारण उम्मेदवार पनि मतदातासम्म पुगिसकेका रहेनछन् । केही उम्मेदवार पुगे पनि घरदैलोमा मत मागिनसकेकाले पनि चर्चा कम भएको स्थानीय बताउँछन् । जनजाति समुदायको बाहुल्यता रहेकाले यो क्षेत्रका मतदाताले फरक मत परीक्षण गर्ने मौकाको रूपमा नयाँलाई अवसर दिन चाहेका छन् । तर आफूले रोजेका उम्मेदवारले राम्रो काम गर्नुपर्ने उनीहरूको भनाइ छ ।

सुन्ताखान लगायतका अन्य गाउँका मतदातालाई पनि चुनाव त्यति लागेको छैन । उम्मेदवारहरू सहर केन्द्रित हुँदा अधिकांश मतदातालाई त उम्मेदवार को हो भन्नेसमेत थाहा छैन । काठमाडौं क्षेत्र नं ३ भूगोलका हिसाबले सानोमा पर्छ । ६४ हजार ४ सय ७९ मतदाता रहेको यो क्षेत्रमा केही खानेपानीको र भित्री बाटाहरू पिच गर्नुपर्नेबाहेक त्यति धेरै विकासका एजेन्डा देखाउँदै वाचा गर्नुपर्ने छैन । 

मतदाता भने त्यसबाहेकका नयाँ एजेन्डा कुरिरहेका छन् । त्यहि भएर पनि यहाँका मतदाताले हरेक निर्वाचनमा मत परीक्षण गरिरहन्छन् । २०६४ पछि यो क्षेत्रमा कुनै पनि उम्मेदवारले दुई पटक जितेको इतिहास छैन । २०६४ मा एमालेका रामेश्वर फुँयाललाई कांग्रेसका चक्रबहादुर ठकुरीले पराजित गर्नुभयो । 

फेरि ७० मा ठकुरी फुयालबाट पराजित हुनुभयो । ७४ को निर्वाचनमा एमाले विजयी भयो भने ७९ को निर्वाचनमा फेरि कांग्रेसका सन्तोष चालिसे निर्वाचित हुनुभयो । मत विभाजनका हिसाबले यसरी परम्परागत राजनीतिक शक्ति बलियो भएको यो क्षेत्रमा उज्यालो नेपालका घिसिङ र रास्वपाका राजु पाण्डेले परीक्षा दिइरहेका छन् । 

 मुख्य प्रतिस्पर्धा उनीहरूबीच देखिए पनि यो क्षेत्रमा २२ उम्मेदवार चुनावी मैदानमा छन् । उनीहरूको एकै स्वर छ जसले काम गर्छ हाम्रो मत उनीहरूलाई ।


Image

अञ्जना लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।