पहिलो पटक मतदान गर्न लागेका युवा के सोच्दैछन् ?

उनीहरू कस्ता नेता छान्लान् ?
फाल्गुन २, २०८२ |अमृता अनमोल
पहिलो पटक मतदान गर्न लागेका युवा के सोच्दैछन् ?

रूपन्देही । चुनाव नजिकिएको छ । विभिन्न दल र उमेदवारहरू मतदातालाई प्रभावित पार्दैछन् । 

यस्तोमा पहिलो पटक मतदान गर्न लागेका युवा के सोच्दैछन् ? उनीहरू कस्ता नेता छान्लान् ?

नेपालको कानुनले १८ वर्षदेखि ३८ वर्ष उमेर समूहका व्यक्तिलाई युवा मानेको छ । आउँदो फागुन २० गतेसम्म १८ वर्ष उमेर पुग्ने युवाले मतदान गर्न पाउनेछन् । पहिलो पटक मतदान गर्न लागेका यी युवामा मतदानप्रति उत्साह र कौतुहलता छ । युवाहरू कतिपय व्यक्ति हेरेर मतदान गर्ने पक्षमा छन् । कतिपय दल र तिनको नीति हेरेर मतदान गर्ने पर्खाइमा छन् ।

नेपालमा प्रत्येक वर्ष ४ लाख ५० हजार युवा काम गर्ने जोस जागर र हिम्मत बोकेर श्रम बजारमा प्रवेश गर्छन् । तर, उचित काम नपाउँदा केही युवा विदेशिन्छन् । केही कामको खोजीमा भौतारिइ रहन्छन् । यस्तोमा पहिलो पटक मतदान गर्ने कतिपय युवा शिक्षालाई वैज्ञानिक, व्यावहारिक र सिपमूलक बनाउने र युवालाई स्वदेशमै काम दिने उमेदवारको खोजीमा छन् । उनीहरू त्यस्तै योजना ल्याउने उम्मेदवार र दललाई मतदान गर्ने पक्षमा छन् ।

नीतिहरूको मूल नीति हो राजनीति । राजनीतिबाट देश विकास गर्ने लक्ष्यसहित पछिल्लो समय राज्यका नीति निर्माण तहमा युवाको पहुँच र सहभागिता बढेको छ । राजनीतिक रूपमा तल्लो तहका युवा समेत सचेत बन्दै गएका छन् । त्यस्ता रूपन्देहीका नवयुवा पनि दल र उम्मेदवारका घोषणा पत्र हेरेर मात्रै मतदान गर्ने योजना सुनाउछन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा युवाको जनसंख्या ४२.५६ अर्थात् १ करोड २४ लाख १२ हजार १७३ छ । काम गर्ने जोस जागर र हिम्मत बोकेका यी युवाले आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणको चाहना बोकेका छन् । यसर्थ पहिलो पटक मतदान गर्न लागेका यी युवा नयाँ सोच र योजनासहित काम गर्ने दल र उम्मेदवारको खोजीमा छन् ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।