
काठमाडौं । ‘सबल, समृद्ध र समुन्नत नेपाल : पृथ्वीपथ’लाई अबको गन्तव्य बनाएर राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी संकल्पपत्र सार्वजनिक गरेको छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमबीच अध्यक्ष राजेन्द्र लिङदेनले घोषणापत्र सार्वजनिक गर्नुभएको हो । राप्रपाले २०८७ सालसम्म नेपाललाई मध्यम आयस्तर भएको मुलुक बनाउने दीर्घकालीन मार्गचित्र बनाउँदै समृद्धिका ६ प्रमुख आधारस्तम्भ औंल्याएको छ ।
जसमा, जलस्रोत तथा जलविद्युत, पर्यटन, कृषि, सूचना प्रविधि र सुशासन, सूचना प्रविधि, निजी क्षेत्र र रोजगारी र विदेशमा बस्ने नेपालीको सीप र पुँजीलाई समृद्धिका आधार मानिएको छ । राष्ट्रवाद र संरक्षणकारी विकासवादको संयोजनबाट मात्र नेपालको मौलिकता, एकताको संरक्षण र अर्थतन्त्रको मजबुती सम्भव रहेको मान्यता राप्रपाले अघि सारेको छ ।
यसैगरी, शासकीय स्वरूपमा अभिभावकीय संस्थाको रूपमा राजसंस्था हुनुपर्ने उल्लेख गर्दै राप्रपाले वर्तमान खर्चिलो र अस्थिर निर्वाचन प्रणालीमा व्यापक परिवर्तन र सुधार हुनुपर्ने जनाएको छ । यस्तै, राप्रपाले प्रदेश खारेजी, केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासकीय संरचना, वैदिक सनातन धर्मसापेक्ष हिन्दु र गैरदलीय स्थानीय तह रहने उल्लेख गरेको छ ।