
धादिङ । नेपालका ठूला टारहरू मध्येको एक हो सल्यानटार ।
सधैँ खानेपानीको हाहाकार रहेको धादिङको सल्यानटारमा बृहत खानेपानी आयोजनामार्फत पानी झरेपछि यहाँका स्थानीयवासी उत्साही छन् । वर्षौंदेखि तिर्खा बोकेर बाँच्न बाध्य यहाँका नागरिक घर घरमा पानीको धारा आएपछि नागरिकको अनुहारमा मुस्कान छाएको छ ।
कहिलै घरआँगनमै पानी झर्ला भन्ने कल्पनासमेत नगरेका सल्यानटारबासी अहिले पानी आएपछि दङ्ग परेका छन् । पानीका लागि बिहानै डोको बोकेर उकालो-ओरालो धाउनु पर्ने, खोल्साबाट गाग्री भर्न पालो कुर्नु पर्ने, साना बालबालिकालाई नुहाउन टाढा खोला धाउनु पर्ने बाध्यता अब सकिएको छ ।
टन्न पानी पिउन पनि धौधौ भएका यहाँका बासिन्दाका लागि यो आयोजना ठूलो बरदान सावित भएको छ । करिब १५ किलोमिटर टाढाको मनपाङ खोलाबाट पानी ल्याउने सोचका साथ तीन वर्षअघि २३ करोड ८५ लाख रूपैयाँमा सम्झौता भई मनपाङ खोला-सल्यान्टार सहलगानी खानेपानी तथा सरसफाइ आयोजना सुरू भएको हो ।
डीपीआरका क्रममा थप काम समेटिँदा आयोजनाका कुल लागत करिब २७ करोड पुगेको छ । अहिले मुहानको पानी सल्यानटार आइपुगेको छ र पुरानो लाइनमार्फत उपभोक्ताले प्रयोग गर्न थालेका छन् । नयाँ वितरण लाइन विस्तार, पाइप बिछ्याउने र संरचना निर्माणको काम तीव्र गतिमा भइरहेको छ ।
साना-ठूला गरी ६ वटा ट्याङ्की निर्माण भइसकेका छन् भने आयोजनाको करिब ७० प्रतिशत काम सम्पन्न भएको समितिले जनाएको छ । प्रतिसेकेन्ड ४६ लिटर पानी आउने यस आयोजनाबाट त्रिपुरा सुन्दरी गाउापालिका-१ र २ का करिब २३ सय घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन् ।
यो आयोजनाले २८ सय घरधुरीका लागि पर्याप्त पानी उपलब्ध हुने विश्वास गरिएको छ । पानीको चर्काे अभावले कहिलेकाहीँ बस्ती नै सुनसान झैं हुने सल्यानटारमा अहिले पानीसँगै आशा पनि बगेको छ । खानेपानी मात्र होइन, करेसाबारी सिँचाइ, कृषि उत्पादन बढाउने र जीवनस्तर सुधार्ने अपेक्षा स्थानीयमा पलाएको छ ।
यद्यपि निकै टाढाबाट ल्याइएको पानी दीगो रूपमा सञ्चालन हुन्छ कि हुँदैन भन्ने चिन्ता पनि उनीहरूमा छ । स्थानीय जनप्रतिनिधिका अनुसार, यो आयोजनाले सल्यानटारको कायापलट गर्नेछ । यो आयोजनाले अब कम्तिमा २० वर्षसम्म पानीको दुःख नहुने विश्वास उनीहरूमा छ ।