
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रचार तथा प्रकासन विभाग प्रमुख मीनबहादुर शाहीले लोकप्रियतावादको भ्रमबाट सचेत रहन मतदातालाई आह्वान गर्नुभएको छ ।
विभागले शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले देशको लोकतान्त्रिक अभ्यास र दीर्घकालीन राष्ट्रिय हितमाथि क्षणिक तथा भावनात्मक लोकप्रियताले गम्भीर प्रभाव पार्नसक्ने भएकोले यसप्रति गम्भीर गर्न आग्रह गर्नुभएको हो ।
उहाँकाअनुसार राजनीतिमा देखापर्ने लोकप्रियतावाद प्रायः भ्रमपूर्ण हुने गरेको छ । यसले नीति, स्थायित्व तथा सुशासनमा नकारात्मक असर पार्ने उहाँको भनाइ छ । उहाँले सबै मतदातालाई विचार, सिद्धान्त, तथ्य, अनुभव र राष्ट्रिय हितलाई केन्द्रमा राखी विवेकपूर्ण ढङ्गले आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गर्नुभयो ।
लोकप्रियतावादको प्रभाव विश्वका धेरै देश तथा दक्षिण एसियाका केही राष्ट्रहरूमा देखिएको उल्लेख गर्दै उहाँले नेपालमा दीर्घकालीन स्थायित्व र विकासको मार्ग रोज्नुपर्नेमा जोड दिनुभयो । एमालेले ‘समृद्धिको बाटो, सूर्यमा मत’ नारासहित समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने लक्ष्य अघि सारेको छ ।
स्वाधीन, समुन्नत र समाजवादउन्मुख अर्थतन्त्रको आधारमा समान अवसरयुक्त, समावेशी र न्यायपूर्ण समाज निर्माण गर्ने पार्टीको उद्देश्य रहेको उहाँले बताउनु भयो । एमालेले प्रत्येक नागरिकलाई गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, मर्यादित रोजगारीका अवसर, सुरक्षित आवास तथा सम्मानित जीवनस्तर सुनिश्चित गर्दै उच्च आयस्तरको विकसित राष्ट्र निर्माण गर्ने प्रतिबद्धता जनाएको छ ।
तिव्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शीता तथा राष्ट्रिय स्वाभिमान सुदृढीकरणमार्फत दीर्घकालीन समृद्धि हासिल गर्न आफ्नो नेतृत्व सक्षम रहेको दाबी पनि एमालेको छ ।