
काठमाडौं । प्रतिनिभि सभातर्फको निर्वाचन आउन अब २० दिन बाँकी रहेको छ ।
चुनावी प्रतिस्पर्धामा रहेका दलहरूले आफ्नो गतिविधि तिव्र पारेका छन् भने निर्वाचन आयोगले पनि मतपत्रको छपाइ र ढुवानी द्रूत गतिमा अघि बढाएकोछ । दैनिक १५ लाखका दरले मतपत्र छपाइ गर्दै आएको निर्वाचन आयोगले शुक्रबार प्रत्यक्षतर्फका लागि आवश्यक मतपत्रको छपाइ सक्ने तयारी गरेको छ ।
आयोगका अनुसार प्रत्यक्षतर्फ २ करोड ३ लाख २३ हजार मतपत्र छाप्नुपर्नेमा बिहिबारसम्म १ सय २४ निर्वाचन क्षेत्रका लागि १ करोड ५६ लाख ७८ हजार मतपत्र छपाइ सम्पन्न भएको छ । समानुपातिकतर्फको मतपत्र छपाइ भने यसअघि नै सम्पन्न भइसकेको छ ।
निर्वाचन आयोगले कर्णाली प्रदेशका विभिन्न १० जिल्लामा मतपत्र पठाइसकेको छ । आयोगका अनुसार कर्णाली प्रदेशका सल्यान, रूकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतका निर्वाचन क्षेत्रमा मतपत्रको ढुवानी गरिएको हो । यस्तै, १ सय ३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको आयोगले जनाएको छ । आयेगकाअनुसार हालसम्म १४ हजार ३ सय ४१ बाकस मतपत्र प्याकिङ भइसकेको छ ।
यस्तै भोट बदर हुन नदिन यस पटकको निर्वाचनमा आयोगले ६ हजार ७ सय ४३ स्वयंसेवक परिचालन गरेको छ ।