निर्वाचनलाई भयरहित र धाँधलीरहित बनाउन राष्ट्रिय सभा सदस्य भट्टको आग्रह

फाल्गुन १, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचनलाई भयरहित र धाँधलीरहित बनाउन राष्ट्रिय सभा सदस्य भट्टको आग्रह

काठमाडौं । राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले आगामी निर्वाचनलाई भयरहित, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न सरकारसँग माग गर्नुभएको छ ।

निर्वाचनका लागि अब केबल २० दिन मात्र बाँकी रहेको समयमा उहाँले निर्वाचनको पवित्रता र सदाचार कायम राख्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सदस्य भट्टले मुलुक अहिले निर्वाचनको संघारमा रहेको र यसलाई सफलतापूर्वक सम्पन्न गर्नु सरकारको मुख्य दायित्व भएको बताउनु भयो । 

उहाँले निर्वाचन प्रक्रियामा कुनै पनि प्रकारको त्रास, भय वा असुरक्षाको वातावरण सृजना हुन नहुनेमा विशेष जोड दिनुभयो । उहाँले अध्यक्षमार्फत सरकारलाई सम्बोधन गर्दै निर्वाचनलाई सदाचार नीति अनुरूप संयमताका साथ सम्पन्न गर्न सुझाव दिनुभयो । भट्टले निर्वाचनको निष्पक्षताले नै लोकतन्त्रको जग बलियो बनाउने भएकाले धाँधलीरहित प्रक्रिया सुनिश्चित गर्न राज्यका संयन्त्रहरू सक्रिय हुनुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको समसामयिक जल्दोबल्दो विषय भनेको निर्वाचनमा जान २० दिन मात्रै बाँकी छ। तसर्थ म अध्यक्षज्युमार्फत नेपाल सरकारलाई भन्न चाहन्छु निर्वाचन भयरहित, त्रासरहित, निष्पक्ष, धाँधलीरहित, सदाचार नीति अपनाएर संयमताका साथ सम्पन्न होस् र गराओस्। अहिलेको सरकार सफल होस् भन्न चाहन्छु ।’

सांसद भट्टले वर्तमान सरकारको सफलताको कामना गर्दै आसन्न निर्वाचनलाई ऐतिहासिक रूपमा सम्पन्न गराउने कार्यमा सरकार सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले निर्वाचन आयोग र सुरक्षा निकायहरूलाई समेत उच्च सतर्कता र इमानदारीका साथ आफ्नो जिम्मेवारी पूरा गर्न आह्वान गर्नुभएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.