देशमा बढ्दो हत्या-हिंसाप्रति राष्ट्रिय सभामा चिन्ता : दोषीलाई कडा कारबाही गर्न माग

फाल्गुन १, २०८२ |कान्तिपुर टीभी संवाददाता
देशमा बढ्दो हत्या-हिंसाप्रति राष्ट्रिय सभामा चिन्ता : दोषीलाई कडा कारबाही गर्न माग

काठमाडौं । राष्ट्रिय सभा सदस्य सुमित्रा विसीले मुलुकका विभिन्न स्थानमा दिनप्रतिदिन हत्या र हिंसाका घटना बढ्दै गएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।

उहाँले हालै जनकपुर र दैलेखमा भएका विभत्स हत्याका घटनाहरूको उल्लेख गर्दै दोषीलाई कानुनी कठघरामा ल्याउन माग गर्नुभएको हो । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद विसीले २०८२ माघ २८ गते जनकपुरमा २३ वर्षीया अलिता खातुनको सलले घाँटी कसेर हत्या गरिएको घटनाले समाजलाई स्तब्ध बनाएको बताउनु भयो । 

त्यसैगरी, दैलेख जिल्लाको दुल्लु क्याम्पस रोडमा कक्षा १० मा अध्ययनरत विद्यार्थी प्रकाश खत्रीको उनकै साथीले धारिलो हतियार प्रयोग गरी हत्या गरेको घटनाप्रति पनि उहाँले गम्भीर चासो व्यक्त गर्नुभएको छ । देशका विभिन्न भागबाट यस्ता दुःखद समाचारहरू निरन्तर आइरहेको भन्दै उहाँले शान्ति सुरक्षाको अवस्थाप्रति प्रश्न उठाउनु भयो ।

सांसद विसीले मृतकहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै ती घटनाहरूको निष्पक्ष र यथार्थ छानबिन गर्न सरकारसँग माग गर्नुभएको छ । उहाँले पीडित परिवारलाई न्याय दिलाउन र अपराधीलाई कडाभन्दा कडा सजाय सुनिश्चित गर्न गृह मन्त्रालयको ध्यानाकर्षण समेत गराउनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.