
काठमाडौं । राष्ट्रिय सभा सदस्य गोपीबहादुर सार्कीले आगामी निर्वाचनले मात्रै मुलुकको विद्यमान राजनीतिक समस्याहरूको पूर्ण समाधान गर्नेमा आशंका व्यक्त गर्नुभएको छ ।
निर्वाचनका क्रममा मतदाताहरूको मनोविज्ञान र आवश्यकतालाई नजिकबाट नियाल्दा राजनीतिक स्तरमै समस्याको निकास खोजिनुपर्ने उहाँको तर्क छ । निर्वाचनको सिलसिलामा विभिन्न क्षेत्रका मतदाता र विशेषगरी युवाहरूसँगको अन्तक्रियापछि सदस्य सार्कीले संविधान निर्माण र राज्यको पुनर्संरचना भए पनि व्यवहारिक कार्यान्वयनमा अझै चुनौती रहेको बताउनु भयो ।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उहाँले नयाँ र पुराना दुवै पुस्ताका मतदाताहरूको मनोविज्ञान बुझ्दा अहिलेको चुनावले मात्रै सबै राजनीतिक समस्या हल नगर्ने महशुस गरेको उल्लेख गर्नुभयो । उहाँकाअनुसार राज्यको केन्द्रीकृत ढाँचा तोडिएर उत्पीडित मधेशी, मुस्लिम, कर्णाली, जनजाति, दलित र महिलाहरूले अधिकार पाए पनि कानुन निर्माणमा रहेको सुस्तताले गर्दा उनीहरूले राज्यको वास्तविक अपनत्व पूर्णरूपमा महशुस गर्न पाएका छैनन् ।
संविधानले जनतालाई राज्यको मालिक बन्ने ठाउँसम्म पुर्याए पनि विधि निर्माणको जटिलताले उपलब्धिहरू ओझेलमा परेको उहाँको भनाइ छ । उहाँले अब बन्ने नयाँ सरकारले कानुनी र विधिगत जटिलताहरूलाई हल गर्न विशेष तदारुकता देखाउनुपर्नेमा जोड दिनुभयो ।