रामेछाप बस दुर्घटना : पीडित पक्ष र जिल्ला प्रशासनबिच सहमति

माघ २९, २०८२ |नवराज श्रेष्ठ
रामेछाप बस दुर्घटना : पीडित पक्ष र जिल्ला प्रशासनबिच सहमति

रामेछाप । मन्थली नगरपालिका–६ मा भएको रामेछाप बस दुर्घटनाका पीडित पक्ष र जिल्ला प्रशासनबिच मध्यरातमा सहमति भएको छ। गएराति सहमति भएपछि हिजोदेखि अवरुद्ध मन्थली–खुर्कोट सडक आज बिहानैदेखि सञ्चालनमा आएको छ ।

मध्यरातमा भएको ८ बुँदे सहमति पत्रमा दुर्घटनामा ज्यान गुमाएका १२ जना मध्ये ९ जनाका परिवारले हस्ताक्षर गरेको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ । 

घाइतेको उपचारमा कुनै कमी नहुने गरी नेपाल अरनिको यातायात सेवा प्रा.लि.ले तत्काल आवश्यक व्यवस्था गर्ने, दुर्घटनामा परी मृत्यु भएका मृतकका परिवारलाई प्रचलित कानुन बमोजिम पाउनुपर्ने क्षतिपूर्ति तत्काल नेपाल अरनिको यातायात सेवा प्रा.लि. ले व्यवस्था गर्ने सहमति भएको छ । 

दुर्घटनामा परी मृत्यु भएका मृतकका परिवारहरूलाई कानुन बमोजिम दिइने क्षतिपूर्तिको व्यवस्था तत्काल गर्ने र थप क्षतिपूर्तिका सम्बन्धमा जिल्ला सुरक्षा समितिको सहजीकरणमा पीडित पक्ष लगायत सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिहरूसहित नेपाल अरनिको यातायात सेवा प्रा.लि.सँग वार्ता गर्ने सहमति बनेको छ ।

काठमाडौँबाट मन्थली–खुर्कोट पुष्पलाल सडक हुँदै रामेछापको सिरिसे ढाँडे भएर ओखलढुङ्गातर्फ जाँदै गरेको बा.प्र ००१–०५ ख ९९७५ नम्बरको यात्रुवाहक बस मङ्गलवार बिहान करिब पौने ११ बजे मन्थली नगरपालिका–६ स्थित बेनीघाट पुलनजिक दुर्घटना भएको थियो । दुर्घटनामा १२ जनाको ज्यान गएको थियो भने ३ जना अझै बेपत्ता छन् ।


Image

नवराज श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका रामेछाप संवाददाता हुन् ।