कान्तिपुर कन्क्लेभ : सुशासनमा पर्याप्त ध्यान नदिँदा सबै परिवर्तन ओझेलमा परेको विज्ञहरूकाे भनाइ

माघ २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर कन्क्लेभ : सुशासनमा पर्याप्त ध्यान नदिँदा सबै परिवर्तन ओझेलमा परेको विज्ञहरूकाे भनाइ

काठमाडौं । राजनीतिक दलका नेता, अभियन्ता र विज्ञहरूले २०४८ यता मुलुकमा धेरै परिवर्तन भए पनि सुशासनमा पर्याप्त ध्यान नदिँदा सबै परिवर्तन ओझेलमा परेको औंल्याएका छन् । 

कान्तिपुर कन्क्लेभको दोस्रो दिनको सत्रका सहभागीहरूले दलविना राजनीति नै हुँदैन भन्ने भाष्यलाई चुनौती दिनुपर्ने धारणा राखे । कान्तिपुर कन्क्लेभको दोस्रो दिनको सत्र 'नीति, नेता र नेतृत्व’ मा बोल्दै राजनीतिक दलका नेताहरूले देशमा धेरै परिवर्तन भए पनि सुशासनमा पर्याप्त ध्यान नदिँदा परिवर्तनहरू ओझेलमा परेको र सुशासन पनि कायम हुन नसकेको बताए । 

यहि सुशासनको कमीले जेन-जी आन्दोलन जन्मिएकाले सुशासन, जवाफदेहीता र नीतिगत स्पष्टतामार्फत जनविश्वास पुन:स्थापित गर्न सकिनेमा उनीहरूको जोड छ । दलविना राजनीति नै हुँदैन भन्ने भाष्यलाई चुनौती दिनुपर्ने उल्लेख गर्दै उनीहरूले दलभित्र हुने केन्द्रिकृत अभ्यासले लोकतन्त्र जनतासम्म नफर्काउने बताए ।

त्रिभुवन विश्वविद्यालयको सिनासका कार्यकारी निर्देशक मृगेन्द्र कार्कीले नेपालको स्वतन्त्रता जोगाउन परराष्ट्र नीति बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले जेन-जी आन्दोलनले सबैलाई प्रश्न गरेको पनि बताउनुभयो । अमेरिकी थिंकट्यांक प्यासिफिक फोरमका क्षेत्रीय मामिला निर्देशक रोबर्ट योर्कले हङकङ, बंगलादेश वा नेपालमा भएका आन्दोलन अमेरिकाले सिर्जना नगरेको बताउनुभएको छ । 

विभिन्न देशमा भएका लोकतान्त्रिक आन्दोलन वा प्रदर्शनहरू अमेरिकाले सिर्जना नगरेको भएकाले अमेरिकाले ती आन्दोलनहरूको श्रेय लिन नचाहेको उहाँको भनाइ छ। यसैगरी राजनीतिकर्मी तथा जेन-जी अभियन्ताहरूले समानुपातिक प्रणालीबाट संसद्मा प्रतिनिधित्व गराउने नाममा जसलाई पनि उम्मेदवार बनाउने अवस्था सही नभएको औंल्याए । 

पिछाडिएको मुद्दालाई सम्बोधन गर्ने नीति र कानुन बनेको तर समानुपातिक प्रणालीबाट ल्याएका कतिपयले नीतिगत हस्तक्षेप गर्न नसकिरहेको उनीहरूको तर्क छ । सबै नयाँ चाहेको भन्दा पनि गलत शैली र गलत प्रवृत्तिको विरोध गरेको अभियन्ताको भनाइ छ ।

कन्क्लेभका सहभागी युवा तथा अभियन्ताहरूले संसद् भवन अगाडि फेरि यस्ता घटना दोहोरिन नहुने उल्लेख गर्दै नयाँ-पूरानोभन्दा पनि आन्दोलन किन भयो भन्ने प्रश्न गर्नुपर्ने बताए । कान्तिपुर कन्क्लेभको दुई दिने बहसमा विभिन्न १२ सत्रमा राजनीति, प्रविधिदेखि जेन-जी आन्दोलनसम्मका विषयमा छलफल भएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.